बजेटले निजी क्षेत्रको मनोबल बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने चेम्बरको विश्वास

-



     सफल आवाज    
     जेठ १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ जेठ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ ।

चेम्बरका अध्यक्ष कमलेश अग्रवालले बजेट केही महत्वाकाङ्क्क्षी देखिए पनि यसको सफल कार्यान्वयन हुनसके मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने बताएका छन् ।

सरकार गठन भएको दुई महिनाको छोटो गृहकार्यमा आएको यो बजेटलाई चेम्बरले एक सकारात्मक सुरुवातका रूपमा लिएको छ । अध्यक्ष अग्रवालले चेम्बरले बुझाएका अधिकांश सुझावहरू बजेटमा सम्बोधन भएको भन्दै अर्थमन्त्रीप्रति आभार समेत व्यक्त गरे ।

कर सुधारमा ठूलो फड्को: व्यक्तिगत आयकरको सीमा १० लाख पुग्यो

अध्यक्ष अग्रवालका अनुसार यस पटकको बजेटले कर सुधारका क्षेत्रमा ठूलो फड्को मारेको छ । विगत लामो समयदेखि ५ र ६ लाखको दायरामा अड्किएको व्यक्तिगत आयकरको सीमालाई बढाएर वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा न्यूनतम करको दायरा कायम गरिनुलाई चेम्बरले पारदर्शी अर्थतन्त्रको सुरुवातका रूपमा लिएको छ ।

यस्तै, ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाइनु र २७३ वटा औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइनुले देशको औद्योगिकीकरणलाई प्रोत्साहन मिल्ने चेम्बरको भनाइ छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली र ट्याक्स सेटलमेन्टको स्वागत

मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीको सुरुवात हुनु निजी क्षेत्रका लागि उत्साहजनक रहेको चेम्बरले जनाएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर बहुदर लगाउन सक्ने व्यवस्था गर्नुका साथै बहुदरको सान्दर्भिकता अध्ययन गर्न उच्च स्तरीय समिति गठन गर्ने कदमलाई चेम्बरले आँटिलो कदम भनेको छ ।

यसैगरी, लामो समयदेखि करसम्बन्धी विवादमा फसेका उद्यमी व्यवसायीका लागि सरकारले ल्याएको ‘ट्याक्स सेटलमेन्ट’ सम्बन्धी नयाँ योजनाको पनि स्वागत गरिएको छ । कुल करको १ प्रतिशत बुझाउँदा जरिवाना र ब्याज मिनाहा हुने व्यवस्थाले सरकारी ढुकुटीमा योगदान पुग्ने र व्यवसायीलाई राहत मिल्ने अध्यक्ष अग्रवालले उल्लेख गरे । कर विवाद समाधानका लागि ’कमर्सियल ट्रिब्युनल’ स्थापना गर्ने घोषणाले निजी क्षेत्रको आत्मविश्वास बढ्ने उनको भनाइ छ ।

स्टार्टअप, पुँजी बजार र आईटी क्षेत्रलाई प्रोत्साहन

बजेटमा स्टार्टअप प्रवर्द्धनका लागि १० करोडसम्मको कारोबारमा ५ वर्ष आयकर छुट र फ्रिल्यान्सरहरूका लागि ५ प्रतिशत फाइनल ट्याक्सको व्यवस्था गरिएकोमा चेम्बरले सराहना गरेको छ ।

पुँजी बजारको सुधारका लागि गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानी खुला गर्नु र ‘हेज फण्ड’ को अवधारणा ल्याउनुलाई सकारात्मक मानिएको छ । पुँजीगत लाभकरलाई अन्तिम कर (फाइनल ट्याक्स) का रूपमा स्पष्ट पारिए पनि यसमा रहेका दोहोरो अर्थ लाग्ने कानूनी जटिलताहरू हटाउन चेम्बरले सुझाव दिएको छ । त्यस्तै, वैदेशिक लगानी भित्र्याउन ‘इजी इन्ट्री र इजी एक्जिट’ को नीतिले लगानीकर्तालाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

सूचना प्रविधि (आईटी) क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा घोषणा गरी निर्यातमा छुट र डिजिटल पूर्वाधारमा दिएको प्राथमिकताले रोजगारी सिर्जनामा मद्दत पुग्ने देखिएको छ भने कृषि क्षेत्रमा २ करोड लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म अनुदान दिने व्यवस्थाको पनि स्वागत गरिएको छ ।

केही बुँदामा पुनर्विचार गर्न चेम्बरको माग

सकारात्मक पक्षहरूका बीच चेम्बरले केही व्यवस्थामा भने पुनर्विचार गर्न माग गरेको छ:

  • बिजुली र राइड सेयरिङमा भ्याट: जलस्रोतको प्रचुर सम्भावना भएको देशमा बिजुली र राइड सेयरिङमा ५ प्रतिशत भ्याट लगाइनु कता-कता नमिलेको जस्तो देखिएकाले यसमा पुनर्विचार गर्न माग गरिएको छ ।
  • शिक्षा र स्वास्थ्यमा कर: यी आधारभूत क्षेत्रमा लगाइएको ३ प्रतिशत करले सेवा महँगो हुन सक्ने चेम्बरको विश्लेषण छ ।
  • विद्युतीय सवारी साधन: विद्युतीय सवारी साधनमा बढाइएको करले स्वच्छ ऊर्जा र हरित यातायातको अभियानलाई केही हदसम्म निरुत्साहित गर्न सक्ने औँल्याइएको छ ।

७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य असम्भव छैन

अध्यक्ष अग्रवालले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र राजस्वको लक्ष्य असम्भव नरहेको बताएका छन् । आगामी ५ वर्ष यदि यही दिशामा अघि बढ्ने हो भने समृद्धिको लक्ष्य भेटाउन असहज नहुने भन्दै उनले नीति तथा कार्यक्रमहरूलाई द्रुत गतिमा कार्यान्वयनमा लैजान सके मुलुकले सोचेभन्दा बढी आर्थिक प्रगति गर्न सक्ने निष्कर्ष व्यक्त गरे ।