बाइटडान्सका सह-संस्थापक झाङ यिमिङ एसियाका दोस्रो धनी व्यक्ति बने

-



     सफल आवाज    
     जेठ २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ जेठ । टिकटकको मातृ कम्पनी बाइटडान्सका सह–संस्थापक झाङ यिमिङ भारतीय उद्योगपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाको दोस्रो सबैभन्दा धनी व्यक्तिको रूपमा उदाएका छन्।

ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार झाङको कुल सम्पत्ति ९३ अर्ब अमेरिकी डलर (करिब ८.९ लाख करोड रुपैयाँ) पुगेको छ।

अर्कोतर्फ रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति ८६ अर्ब डलर (करिब ८.३१ लाख करोड रुपैयाँ) मा सीमित भएपछि उनी तेस्रो स्थानमा झरेका छन्। अडानी समूहका अध्यक्ष गौतम अडानी भने ११.१९ लाख करोड रुपैयाँको सम्पत्तिसहित एसियाकै सबैभन्दा धनी व्यक्तिको रूपमा कायम छन्।

एआई च्याटबट ‘डौबाओ’ को सफलताले सम्पत्तिमा उछाल

झाङको सम्पत्ति बढ्नुको मुख्य कारण बाइटडान्सको मूल्याङ्कन वृद्धि र उनको एआई च्याटबट ‘डौबाओ’ को व्यापक सफलता हो। चीनमा मात्रै ३० करोडभन्दा बढी प्रयोगकर्ता रहेको यो च्याटबटलाई च्याटजीपीटी र जेमिनीको प्रतिस्पर्धी मानिन्छ।

सन् २०१९ मा झाङको सम्पत्ति १.२४ लाख करोड रुपैयाँ मात्र थियो, जुन सात वर्षमा सात गुणाभन्दा बढीले बढेको हो। अमेरिकामा टिकटकको सम्भावित बिक्रीसम्बन्धी संकट टरेपछि ब्ल्याकरक र फिडेलिटीजस्ता ठूला लगानीकर्ताहरूको विश्लेषणले झाङको सम्पत्तिमा २.३० लाख करोड रुपैयाँ थपेको छ। बाइटडान्सले यसै वर्ष एआई क्षेत्रमा मात्र ६.७ लाख करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको छ।

विश्वमा एलोन मस्क अझै पहिलो धनी व्यक्ति

विश्वव्यापी सूचीमा भने एलोन मस्क ७२६ अर्ब डलर (करिब ६९ लाख करोड रुपैयाँ) को सम्पत्तिसहित पहिलो स्थानमा कायम छन्। दोस्रोमा गुगलका संस्थापक ल्यारी पेज र तेस्रोमा ओराकलका ल्यारी एलिसन रहेका छन्।