प्रतिनिधि सभा बैठक-आज बजेटमाथि छलफल सुरु

-



     सफल आवाज    
     जेठ २५ गते २०८३ मा प्रकाशित



काठमाडौं, २५ जेठ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (सोमबार) बिहान ११ बजे बस्दैछ। प्रतिनिधि सभाको १८ औँ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ।

संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा बजेट र व्यवस्थापन कार्यसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पेस हुनेछन्।

बजेटमाथि सामान्य छलफल सुरु हुने

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव स्वीकृत भएसँगै बजेटमाथिको सामान्य छलफल सुरु हुनेछ भने छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची छ।

अर्थमन्त्रीले विभिन्न विधेयकहरू प्रस्तुत गर्ने

व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. वाग्लेले आजको बैठकमा आर्थिक र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ:

  • विनियोजन विधेयक, २०८३: विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सदनमा पेस गरिने।
  • राष्ट्र ऋण उठाउने विधेयक, २०८३: विधेयक प्रस्तुत गर्न अनुमति माग्ने र सदनमा पेस गर्ने।
  • नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३: संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

पर्यटन र श्रम महासन्धीसम्बन्धी प्रस्ताव पनि पेस हुने

बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धीसम्बन्धी प्रस्तावसमेत पेस हुनेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पाैडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, सन्धीसम्बन्धी कार्य अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दुईवटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय महासन्धीहरू सदनमा पेस गर्ने कार्यसूची छ:

१. ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’

२. ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९)’

विषयगत समितिका बैठक पनि बस्दै

प्रतिनिधि सभाको बैठक चलिरहँदा आजै राष्ट्रिय सभाअन्तर्गतका दुईवटा विषयगत समितिको बैठक पनि बस्दैछ। संसद् सचिवालयका अनुसार ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को बैठक आजै बस्ने तय भएको छ।