नाम फेरेर करको भार यथावत राखेकोमा महासंघको आपत्ति, नीतिगत पारदर्शितामाथि ठूलो प्रश्न खडा

-



     सफल आवाज    
     जेठ २५ गते २०८३ मा प्रकाशित



काठमाडौं २५ जेठ। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले करको नाम परिवर्तन गरेर भार भने यथावत राख्ने नीति लिएको भन्दै कडा आपत्ति जनाएको छ। बजेटमाथिको नीति संवादमा महासंघका तर्फबाट मन्तव्य राख्दै अध्यक्ष अञ्जन श्रेष्ठले सरकारको नीतिगत पारदर्शितामाथि ठूलो प्रश्न खडा भएको बताएका छन्।

अध्यक्ष श्रेष्ठका अनुसार ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको घोषणा सतहमा स्वागतयोग्य देखिए पनि भित्रभित्रै ती वस्तुलाई ‘आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क’ र ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ मा समायोजन गरिएको छ। नाम परिवर्तन गरेर उद्योगी र उपभोक्तामाथिको वास्तविक करको भार कायमै राख्ने यस्तो प्रवृत्ति उचित नभएको महासंघको ठम्याइ छ।

कृषि औजार र कच्चा पदार्थमा असन्तुष्टि

विवादास्पद कर नीतिका अतिरिक्त महासंघले बजेटका कतिपय घोषणाहरू आत्मनिर्भरताको लक्ष्यसँग बाझिएको उल्लेख गरेको छ:

  • कृषि औजारमा भन्सार वृद्धि: साना किसानले प्रयोग गर्ने कृषि औजारमा भन्सार दर १ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्‍याइनुले कृषकहरूलाई प्रत्यक्ष मार पर्ने भन्दै महासंघले यसलाई तत्काल साविककै १ प्रतिशतमा कायम राख्न माग गरेको छ।
  • औद्योगिक कच्चा पदार्थ: २७३ औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइए पनि ती अधिकांश सहायक कच्चा पदार्थ मात्र भएकाले मुख्य कच्चा पदार्थमा ठोस राहत नआउँदा स्वदेशी उत्पादनको लागत घटाउने सरकारी दाबी सतही मात्र हुने स्पष्ट पारिएको छ।
  • कर विवाद फर्स्योट: लामो समयदेखि थन्किएका कर विवादलाई १ प्रतिशत थप शुल्कमा फर्स्योट गर्ने छूट स्किम सकारात्मक भए पनि २०८३ पुस मसान्तसम्मको समयावधि अव्यावहारिक रूपमा साँघुरो भएकाले यसलाई कम्तीमा चैत मसान्तसम्म विस्तार गर्न आग्रह गरिएको छ।

बजेटलाई ‘शंकाको लाभ’ र सुधारका प्रयासको स्वागत

यी तमाम व्यावहारिक अस्पष्टता र विरोधाभासका बीच पनि महासंघले नयाँ बजेटलाई तत्कालै पूर्ण रूपमा खारेज नगरी ‘शंकाको लाभ’ (Benefit of doubt) दिँदै यसले सही दिशा समातेको टिप्पणी गरेको छ। संरचनागत र कानुनी सुधारका लागि चालिएका साहसिक कदमहरूलाई महासंघले स्वागत गरेको छ:

पुराना र परस्पर बाझिने १५ वटा कानुन खारेजीका लागि संशोधन विधेयक संसदमा लैजाने, उधारो असुली र सनसेट कानुन ल्याउने प्रतिबद्धता तथा ३१ सरकारी निकायको खारेजी र अन्यको मर्जर गर्ने घोषणा दूरगामी महत्त्वका कदम हुन्।

यसैगरी, वैदेशिक लगानीका लागि स्वचालित स्वीकृति प्रणाली, व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्‍याएर अधिकतम दर २९ प्रतिशतमा झार्ने निर्णय, र सेयर बजारमा पुँजीगत लाभकरलाई अन्तिम कर मानने व्यवस्थाले लगानीकर्ताको मनोबल बढाउने महासंघको अपेक्षा छ। ऊर्जा र सूचना प्रविधि (IT) क्षेत्रमा गरिएका नयाँ घोषणाहरूलाई पनि डिजिटल अर्थतन्त्रको कोसेढुङ्गा मानिएको छ।

चालू खर्च बढी र पुँजीगत खर्च न्यून हुनु चिन्ताजनक

बजेटको वित्तीय सन्तुलन भने चिन्ताजनक रहेको महासंघको विश्लेषण छ। चालू खर्चले कुल स्रोतको झन्डै ६० प्रतिशत ओगटेको तर पुँजीगत खर्च २० प्रतिशतकै सेरोफेरोमा खुम्चिनुले राज्यले भविष्य निर्माण भन्दा वर्तमान खर्च धान्न बढी जोड दिएको कटु सत्य उजागर गर्ने महासंघले जनाएको छ।

कमजोर खर्च क्षमता, नीतिगत अस्थिरता र अन्तर-निकाय समन्वयको अभाव जस्ता पुराना संरचनागत रोगको उपचार नभए बजेटका सम्भावना कागजमै ओइलाउने र ७ प्रतिशतको महत्त्वाकाङ्क्षी आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने चेतावनी महासंघले दिएको छ।

स्थिर सरकारको यो दुर्लभ अवसरलाई आर्थिक रूपान्तरणमा बदल्न सरकारसँग काँधमा काँध मिलाएर हिँड्न तयार रहेको प्रतिबद्धता जनाउँदै महासंघले आफूहरू बजेटप्रति ‘सतर्कतापूर्वक आशावादी’ रहेको स्पष्ट पारेको छ।