नेप्से १.५४ अंकले घट्यो, कारोबार ६ अर्ब ४४ करोड पुग्यो

-



     सफल आवाज    
     जेठ २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ जेठ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । लगातार तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले मंगलबार पनि सोही क्रम जारी राख्दै १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा पुगेको हो ।

सेन्सेटिभ इन्डेक्स ०.२९ अंक, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेका छन् ।

नेप्से घटे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ । सोमबार ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ ।

दुई कम्पनीका शेयर सकारात्मक सर्किटमा कारोबार भएका छन् । सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा रहे । यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब ११ प्रतिशत र उपकार लघुवित्तको शेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स परेको छ, जसको शेयर मूल्य ९.१६ प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा कृषि विकास बैंकको ८ वर्षे एग्रीकल्चर बण्ड शीर्ष स्थानमा रह्यो । सो बण्डमा ५७ करोड रुपैयाँको कारोबार भएको छ । सेन्ट्रल फाइनान्समा ३६ करोड र १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ मा ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ घटेका छन् । वित्त उपसमूहको परिसूचक १.०१ प्रतिशतले घट्दा सबैभन्दा बढी प्रभावित भएको छ ।