३७ खर्ब विदेशी मुद्रा सञ्चिति, साढे ८ खर्ब शोधनान्तर बचत, व्यापार घाटा १४ खर्ब

-



     सफल आवाज    
     जेठ २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको तथ्याङ्कले नेपालको बाह्य अर्थतन्त्र अन्त्यन्तै बलियो अवस्थामा पुगेको देखाएको छ। तर, यो सुखद पक्षका बाबजुद देश अझै पनि परनिर्भरता र उपभोगमुखी प्रवृत्तिको दुश्चक्रबाट बाहिर निस्कन सकेको छैन।

तथ्याङ्कअनुसार देश भित्रिने र बाहिरिने रकमको अन्तर जनाउने शोधनान्तर स्थिति इतिहासकै उच्च विन्दु अर्थात ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा रहेको छ। त्यसैगरी, विदेशी मुद्राको कुल सञ्चिति ३७ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँ नाघेको छ। यो सञ्चितिले १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ, जुन आवश्यकताभन्दा निकै धेरै हो। वित्तीय व्यवस्थापन र बाह्य क्षेत्रको सुरक्षाका हिसाबले नेपाल अहिले निकै सहज र सुरक्षित स्थानमा पुगेको छ र यसले सरकार र निजी क्षेत्रलाई ढुक्कसँग काम गर्ने वातावरण दिएको छ।

रेमिट्यान्सको टेकोमा बाह्य सूचक बलियो, भित्र कमजाेर

यस ऐतिहासिक सफलताको पछाडि देशको आफ्नै आन्तरिक उत्पादन वा बलियो निर्यातको योगदान नभई पूर्ण रूपमा रेमिट्यान्समा आएको उछाल प्रमुख कारण रहेको छ। समीक्षा अवधिमा रेमिट्यान्समा ४१.२ प्रतिशतको उच्च वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। राष्ट्रको चालु खाता नै ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहनुको पछाडि पनि यही रेमिट्यान्सको टेको रहेको छ। यसले के देखाउँछ भने नेपालको वित्तीय स्थिरता अझै पनि वैदेशिक रोजगारी र डलरको विनिमय दरकै भरमा टिकेको छ।

व्यापार घाटामा निरन्तर वृद्धि र उपभोगमुखी प्रवृत्ति

बाह्य सूचक बलियो देखिए पनि देशको वैदेशिक व्यापारको अवस्था भने अझै चिन्ताजनक छ। १० महिनाको अवधिमा नेपालको निर्यात १४.२ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने आयात पनि १४.८ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। निर्यातको तुलनामा आयातको परिमाण निकै ठूलो भएका कारण कुल वस्तु व्यापार घाटा १४.९ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ।

आयातित वस्तुहरूको सूचीमा पेट्रोलियम पदार्थ र यातायातका साधनहरू प्रमुख छन्, जसले रेमिट्यान्स बढेसँगै नेपालीहरूको उपभोग गर्ने बानी बढेको र देशको पैसा पुनः बाहिरिएको संकेत गर्छ। निर्यात–आयात अनुपात जम्मा १४.७ प्रतिशत मात्र हुनुले नेपालको आन्तरिक उत्पादन अझै पनि नाजुक र कमजोर अवस्थामा रहेको पुष्टि गर्छ।

दक्ष जनशक्ति स्वदेशमा टिक्न असफल

वैदेशिक रोजगारीको प्रवृत्तिमा पनि केही गम्भीर विरोधाभासहरू देखिएका छन्। समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १७.३ प्रतिशतले घटेर ३ लाख ३५ हजार ५१० मा सीमित भएको छ। तर, पुनः श्रम स्वीकृति लिएर जानेहरूको संख्या भने १६.४ प्रतिशतले बढेर ३ लाख ३६ हजार ३६४ पुगेको छ। नयाँ जानेको संख्या घट्नु र पुराना, अनुभवी कामदारहरू पुनः विदेशिने क्रम बढ्नुले विदेशको अनुभव हासिल गरेका जनशक्तिलाई स्वदेशमा टिकाउन नसकिएको पुष्टि हुन्छ। पुराना र दक्ष कामदारहरू फर्किएका कारण नै अहिले रेमिट्यान्सको परिमाण र डलरको आयमा उच्च वृद्धि भएको देखिन्छ।

यसरी, बाह्य अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिए पनि त्यसको जग कमजोर रहेको र यो पूर्णतः रेमिट्यान्समा निर्भर रहेको स्पष्ट छ। यो अनुकूल समयलाई उपयोग गरेर आन्तरिक उत्पादन बढाउन र व्यापार घाटा कम गर्न ठोस कदम नचाल्ने हो भने, भविष्यमा वैदेशिक रोजगारीमा जाने सामान्य धक्काले पनि अर्थतन्त्रलाई संकटमा पार्न सक्ने जोखिम उत्तिकै रहन्छ।