विराटनगरमा जेठ ३१ गते ‘सीप उत्सव २०८३’ हुने

-



     सफल आवाज    
     जेठ २९ गते २०८३ मा प्रकाशित



विराटनगर, २९ जेठ । उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको ‘स्किल ग्याप’ (दक्षताको अन्तर) लाई न्यूनीकरण गर्ने उद्देश्यका साथ विराटनगरमा ‘सीप उत्सव २०८३’ को आयोजना हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा आगामी जेठ ३१ गते, आइतबार संगठनको सचिवालयमा यो उत्सव हुन लागेको हो ।

स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर-हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा यो कार्यक्रम सञ्चालन हुन लागेको आयोजकले जनाएका छन् ।

उत्सवका मुख्य आकर्षण र गतिविधिहरू

जेठ ३१ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने उक्त उत्सवमा प्राविधिक शिक्षा र सीप प्रवर्द्धनका लागि विभिन्न रचनात्मक गतिविधिहरू गरिने छ:

  • सीप प्रतियोगिता: सूचना प्रविधि (IT), होटल म्यानेजमेन्ट तथा अटोमोवाईल विधामा अन्तर शिक्षालय सीप प्रतियोगिता हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुनेहरूलाई सोही दिन अपराह्न साढे ४ बजे पुरस्कार प्रदान गरिनेछ ।
  • लाइभ तालिम: उत्सवमा माटाको भाँडावर्तन, प्लम्बिङ, इण्डष्ट्रियल अटोमेशन, सि.सि.टि.भि जडान, थ्रिडी प्रिन्टिङ र ग्रिन स्किल (हरित सीप) का विधामा प्रत्यक्ष (लाइभ) तालिम प्रदर्शन गरिनेछ ।
  • वृत्ति परामर्श (करियर काउन्सेलिङ): विद्यार्थी तथा युवाहरूलाई लक्षित गरी व्यावसायिक मार्गनिर्देशनका लागि करियर काउन्सेलिङ सत्रहरू सञ्चालन गरिनेछ ।

उद्योग र शिक्षालयबीचको समन्वयमा जोड

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यो उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय तथा प्रशिक्षार्थीहरूबीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउनेछ ।

“हाम्रो मुख्य उद्देश्य आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्नु र स्वदेशमै रोजगारीका पर्याप्त सम्भावनाहरू छन् भन्ने सन्देश प्रवाह गर्नु हो,” अध्यक्ष राठीले भन्नुभयो ।

उहाँले प्राविधिक शिक्षा तथा अप्रेन्टिसिप कार्यक्रमको महत्वबारे सचेतना जगाउँदै सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न यो उत्सव कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

व्यापक सहभागिता रहने

संगठनका कार्यसमिति सदस्य एवं मानव संशाधन विकास समितिका संयोजक दिपक अग्रवालले उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, र अटोमोबाइल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको बाक्लो उपस्थिति रहने जानकारी दिनुभयो । यसका साथै उद्योग प्रतिष्ठानका प्रतिनिधि, प्राविधिक शिक्षालय, र हस्पिटालिटी क्षेत्रका प्रदेश तथा जिल्ला स्तरका विभिन्न संघसंस्थाहरूको समेत उत्सवमा सहभागिता रहनेछ ।

उद्योग संगठन मोरङले यस ‘सीप उत्सव २०८३’ मार्फत व्यावसायिक सीप विकास र करियर मार्गदर्शनलाई संस्थागत गर्दै नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई थप उद्योगमैत्री र व्यावहारिक बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखेको छ ।