नेशनल हाइड्रोपावरको २९औँ एजिएम असार ३१ गते हुने

-



     सफल आवाज    
     असार ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ जेठ। नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले आफ्नो २९औँ वार्षिक साधारणसभा आगामी असार ३१ गते आयोजना गर्ने जानकारी गराएकाे छ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा उक्त दिन बिहान ११ बजे काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटरिङमा बस्ने तय भएको छ।

सभामा मुख्य गरी आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव रहेको छ।

यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा एक जना महिलासहित कुल सात जना सञ्चालकहरूको निर्वाचन गर्ने लगायतका महत्त्वपूर्ण प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

असार १६ गते बुक क्लोज

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार १६ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसअनुसार असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन्।

थप व्यवस्था: सभामा आफैं उपस्थित हुन नसक्ने शेयरधनीहरूका लागि कम्पनीले तोकेको ढाँचामा प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ। साधारणसभासम्बन्धी अन्य विस्तृत जानकारी कम्पनीको आधिकारिक वेबसाइट तथा कार्यालयबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।