औद्योगिक क्षेत्रका उद्योगको विद्युत काट्ने र धरपकड गर्ने तयारीप्रति महासंघको गम्भीर आपत्ति

-



     सफल आवाज    
     असार ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ असार। नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूमाथि प्रशासनिक बल प्रयोग गरी विद्युत लाइन काट्ने र उद्योगीहरूलाई धरपकड गर्ने तयारी गरिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले एक विज्ञप्ति जारी गर्दै १० वटा औद्योगिक क्षेत्रका करिब ७०० उद्योगहरूमाथि हुन लागेको यस्तो धरपकड र दवावपूर्ण कदमप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको हो।

मुद्दा विचाराधीन रहेकै अवस्थामा ताकेता

औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिको विवादसम्बन्धी सम्मानित सर्वोच्च अदालत तथा उच्च अदालतको फैसला उपर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड आफैँले सर्वोच्च र उच्च अदालतमा पुनरावलोकनको मुद्दा दायर गरिसकेको छ।

कानुनी रूपमा मुद्दा अझै विचाराधीन रहेको र उद्योगीहरूले भाडा दरको स्पष्ट विवरण माग गर्दा समेत उपलब्ध नगराइएको महासंघको भनाइ छ। यस्तो परिस्थितिमा अकस्मात ७ दिनको छोटो अवधि दिएर बक्यौता तिर्न ताकेता गर्नु, सोही बहानामा विद्युत काट्नु र अनावश्यक मानसिक दबाव दिनु कानुनी राज्य र व्यवसायिक शिष्टाचार विपरित भएको महासंघले ठहर गरेको छ।

लगानी निरुत्साहित हुने चेतावनी

वर्तमान समयमा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमुलक उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउँदै महासंघले यस्तो संवेदनशील समयमा उद्योगहरूको विद्युत लाइन काटेर उत्पादन ठप्प पार्नु न्यायसंगत नभएको बताएको छ। यस किसिमको कदमले स्वदेशी लगानीकर्ताहरूको मनोबल गिराउने र स्वदेशी तथा विदेशी लगानीलाई समेत निरुत्साहित गर्ने महासंघको चेतावनी छ।

महासंघको माग र प्रतिबद्धता:

  • नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड समक्ष उद्योगहरूलाई त्रसित नपार्न र उत्पादन रोक्ने खालका गतिविधि तत्काल बन्द गर्न जोडदार माग।
  • कानुनी प्रक्रियाको सम्मान गर्दै संवाद र सहमतिको माध्यमबाट मात्र जग्गा भाडाको वैज्ञानिक र व्यावहारिक समाधान खोज्न आग्रह।
  • यो समस्या समाधानका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न महासंघ पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता।