छ वटा सम्पदा १६ वर्षपछि परे राष्ट्रिय सूचीकरणमा

-



     सफल आवाज    
     असार ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ असार। नेपाल सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा थप पाँचवटा अभौतिक (अमूर्त) सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ । योसँगै नेपालमा राष्ट्रिय सूचीकरणमा पर्ने अभौतिक सांस्कृतिक सम्पदाको संख्या ६ पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको १६ वर्षपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२’ को प्रावधान बमोजिम मन्त्रीस्तरीय निर्णयबाट यी सम्पदाहरूलाई सूचीकृत गरेको हो । नेपालले विसं २०६७ असार १ गते अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी महासन्धिलाई अनुमोदन गरेको थियो ।

यस वर्ष सूचीकृत भएका ५ नयाँ सम्पदाहरू:

  • लदी पूजा: माझी समुदायद्वारा अभ्यास गरिने परम्परागत पूजा ।
  • भूमे पर्व: मगर समुदायले मनाउने प्रकृतिपूजक सांस्कृतिक पर्व ।
  • जिब्रो छेड्ने जात्रा: मध्यपुर थिमी नगरपालिका–८, बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवाः समुदायद्वारा मनाइने प्रसिद्ध जात्रा ।
  • श्री नीलवाराही गण नाच: बोडे (भक्तपुर) कै नेवा: समुदायमा प्रचलित परम्परागत देवनाच ।
  • नचारु स्याइँ नाच: रोल्पाको माडी गाउँपालिका–६ का मगर समुदायले मनाउने मौलिक नाच ।

यसअघि, सरकारले सूचीकरणका लागि पहिलो पटक आवेदन आह्वान गर्दा परेका १०५ निवेदनमध्ये ललितपुरको नेवार समुदायले बनाउने ‘योमरी’ लाई पहिलो अमूर्त सांस्कृतिक सम्पदाका रूपमा राष्ट्रिय सूचीकरण गरेको थियो ।

‘योमरी’ अन्तर्राष्ट्रिय सूचीकरणका लागि युनेस्कोमा

गत वर्ष राष्ट्रिय सूचीमा समेटिएको ललितपुरको योमरीलाई यस वर्ष संयुक्त राष्ट्रियसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) मा अन्तर्राष्ट्रिय सूचीकरणका लागि सिफारिस गरी पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

अभियानकर्मी सम्मानित, विधेयक प्रतिनिधिसभामा

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा सम्पदा सूचीकरणका लागि योगदान पुर्‍याउने अभियन्ता एवं संस्थाहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको सांस्कृतिक विविधता र जातजातिको सम्मानका लागि यो दिवस मनाउन थालिएको बताउनुभयो । उहाँले ‘अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक’ राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधिसभामा छलफलको चरणमा रहेको जानकारी समेत दिनुभयो ।

मन्त्रालयका सहसचिव डा. सुरेशसुरस श्रेष्ठका अनुसार महासन्धि अनुमोदन भएको १५ वर्ष पुगेको अवसरमा गत वर्ष (२०८२ असार १ गते) देखि नेपालमा यो राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । सम्बन्धित समुदायकै अग्रसरतामा पहिचान र अभिलेखीकरण मार्फत मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सरकारले यो सूचीकरण प्रक्रियालाई निरन्तरता दिएको हो ।