सेबोनको पाइपलाइनमा १ करोड कित्ताभन्दा बढी आईपीओ (सूचीसहित)

-



     सफल आवाज    
     असार ९ गते २०८३ मा प्रकाशित



काठमाडौं, ९ असार। नेपाली शेयर बजारमा प्राथमिक शेयर (IPO) पर्नु भनेको चिठ्ठा पर्नु वा भाग्यकै परीक्षा दिनु सरह बनेको छ। डिम्याट खाता खोल्नेहरूको संख्या ६० लाख नाघिसक्दा पनि बजारमा आउने आईपीओ भने केही लाख कित्तामा मात्र सीमित हुँदा आम सर्वसाधारणले जहिले पनि ‘हात खाली’ हुने सास्ती भोगिरहेका छन्। हालको ‘दश कित्ते नीति’ ले बजार धानिरहेको अवस्थामा सर्वसाधारण लगानीकर्तामा चरम निराशा छाएको छ।

तर, यही निराशाका बीच प्राथमिक बजारमा एउटा ठूलो उत्साह थपिने बलियो संकेत देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा १ करोड कित्ताभन्दा बढी निष्काशन संख्या भएका एक दर्जनभन्दा बढी शक्तिशाली र ठूला कम्पनीहरू स्वीकृतिको पर्खाइमा छन्। यी मेगा आईपीओहरू बजारमा आउनासाथ सर्वसाधारणले थोरै भए पनि सुनिश्चित कित्ता शेयर हात पार्ने वातावरण बन्ने देखिएको छ।

पछिल्लो समय जलविद्युत, उत्पादनमूलक, लगानी र सञ्चार क्षेत्रका बलिया कम्पनीहरूले ठूलो परिमाणमा शेयर निष्काशनको तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।

जलविद्युत क्षेत्र: ४ ठूला कम्पनीको अर्बौँको शेयर

जलविद्युत क्षेत्रमा मात्रै ४ वटा ठूला कम्पनीहरू ठूलो परिमाणको शेयर बोकेर पाइपलाइनमा बसेका छन्:

  • सिउरी न्यादी पावर लिमिटेड: सबैभन्दा ठूलो परिमाणमा ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता शेयर निष्काशन गर्दैछ। एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीले २०८२ पुस महिनामा आफ्नो अनुपालन प्रतिवेदनको जवाफ समेत बुझाइसकेको छ।
  • रघूगंगा हाइड्रोपावर लिमिटेड: निकै प्रतिक्षित मानिएको यस कम्पनीले एनआइसी एसिया क्यापिटलमार्फत १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न २०८३ जेठ ८ गते अनुपालन सहितको आवेदन दिइसकेको छ।
  • युनाइटेड मेवा खोला हाइड्रोपावर: सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीले १ करोड २३ लाख कित्ता शेयर ल्याउँदैछ।
  • मेवा डेभलपर्स लिमिटेड: हिमालयन क्यापिटलमार्फत १ करोड १२ लाख कित्ताको मेगा आईपीओ ल्याउने तयारीमा छ।

उत्पादनमूलक क्षेत्र: प्रिमियम मूल्यमा बजार तरंगित पार्ने तयारी

उत्पादनमूलक क्षेत्रका वास्तविक (Real Sector) कम्पनीहरूले अंकित मूल्यमा प्रिमियम थपेर ठूलो मात्रामा शेयर जारी गर्ने योजना बनाएका छन्, जसले बजारलाई नै तरंगित पार्ने देखिएको छ:

  • जगदम्बा स्टिल्स लिमिटेड: प्रतिशेयर रु. ३३० (प्रिमियमसहित) मा २ करोड ७० हजार कित्ता आईपीओ निष्काशन गर्दैछ। कुल पूँजीको ३० प्रतिशत हिस्सा निष्काशन गर्न लागेको यस कम्पनीको कुल निष्काशन रकम नै ६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको हुनेछ।
  • सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड: प्रतिशेयर रु. ३३३ प्रिमियम मूल्यमा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता (कुल पूँजीको ३५ प्रतिशत) शेयर बजारमा ल्याउँदैछ।
  • मारुती सिमेन्ट्स लिमिटेड: प्रतिशेयर रु. ४२६ प्रिमियम मूल्य कायम गर्दै १ करोड १६ लाख कित्ता शेयर निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङमार्फत प्रक्रिया अगाडि बढाएको छ।
  • रिद्धिसिद्धि सिमेन्ट लिमिटेड: प्रतिशेयर रु. २४६ प्रिमियम मूल्यमा १ करोड २१ लाख ७१ हजार ५ सय कित्ता (कुल पुँजीको २७ प्रतिशत) शेयर जारी गर्न एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
  • अम्बे स्टिल्स लिमिटेड: प्रतिशेयर रु. ३०३ प्रिमियममा १ करोड ११ लाख ९२ हजार ७ सय २७ कित्ता शेयर ल्याउने अन्तिम तयारीमा छ।

अंकित मूल्य रु. १०० मै आउने तीन ठूला सिमेन्ट र डण्डी कम्पनी

प्रिमियम बाहेक अंकित मूल्य १०० रुपैयाँमै सर्वसाधारणलाई शेयर दिने गरी उत्पादनमूलक क्षेत्रका अन्य तीन कम्पनीहरू पनि लाइनमा छन्:

  • महाशक्ती सिमेन्ट लिमिटेड: १ करोड ७८ लाख ५० हजारभन्दा बढी कित्ता शेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटलमार्फत २०८३ वैशाखमा प्रतिवेदन बुझाइसकेको छ।
  • सुभश्री अग्नि सिमेन्ट उद्योग: माछापुच्छ्रे क्यापिटलमार्फत २ करोड २ लाख १० हजार कित्ता शेयर ल्याउने तयारीमा छ।
  • गोदावरी स्टिल लिमिटेड: सानिमा क्यापिटलमार्फत १ करोड ५ लाख कित्ता आईपीओ ल्याउन २०८३ वैशाख २9 गते नै अनुपालन प्रतिवेदन प्राप्त गरिसकेको छ।

लगानी र सञ्चार क्षेत्रका दुई महारथी

लगानी र सञ्चार क्षेत्रका दुई ठूला नामहरू पनि यसै दौडमा सामेल छन्:

  • शिवम होल्डिङ्गस् लिमिटेड (लगानी क्षेत्र): सिद्धार्थ क्यापिटलमार्फत प्रतिशेयर रु. २१० प्रिमियम मूल्यमा १ करोड १६ लाख कित्ता आईपीओ निष्काशन गर्दैछ।
  • डिश मीडिया नेटवर्क लिमिटेड (डिशहोम – सञ्चार क्षेत्र): प्रभु र कुमारी क्यापिटलमार्फत १ करोड ९७ लाख ५ हजार ९ सय ७० कित्ता आईपीओ ल्याउन धितोपत्र बोर्डमा अनुपालन प्रतिवेदन बुझाइसकेको छ।

पाइपलाइनमा रहेका मेगा आईपीओहरूको संक्षिप्त विवरण:

कम्पनीको नामक्षेत्रकित्ता संख्याबिक्री प्रबन्धककैफियत/मूल्य
सिउरी न्यादी पावर लिमिटेडजलविद्युत३,०३,६०,७८४एनएमबि क्यापिटलप्रतिवेदन बुझाइसकेको (२०८२ पुस)
सुभश्री अग्नि सिमेन्ट उद्योगउत्पादनमूलक२,०२,१०,०००माछापुच्छ्रे क्यापिटलअंकित मूल्य रु. १००
जगदम्बा स्टिल्स लिमिटेडउत्पादनमूलक२,००,७०,०००–प्रिमियमसहित रु. ३३०
डिश मीडिया नेटवर्क लिमिटेडसञ्चार१,९७,०५,९७०प्रभु र कुमारी क्यापिटलअनुपालन प्रतिवेदन बुझाइसकेको
महाशक्ती सिमेन्ट लिमिटेडउत्पादनमूलक१,७८,५०,०००+लक्ष्मी सनराइज क्यापिटलप्रतिवेदन बुझाइसकेको (२०८३ वैशाख)
सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडउत्पादनमूलक१,५९,८१,५००–प्रिमियमसहित रु. ३३३
रघूगंगा हाइड्रोपावर लिमिटेडजलविद्युत१,५०,००,०००एनआइसी एसिया क्यापिटलआवेदन दिइसकेको (२०८३ जेठ ८)
युनाइटेड मेवा खोला हाइड्रोपावरजलविद्युत१,२३,००,०००सिटिजन्स क्यापिटलअंकित मूल्य रु. १००
रिद्धिसिद्धि सिमेन्ट लिमिटेडउत्पादनमूलक१,२१,७१,५००एनआईएमबी एस क्यापिटलप्रिमियमसहित रु. २४६
मारुती सिमेन्ट्स लिमिटेडउत्पादनमूलक१,१६,००,०००नबिल इन्भेष्टमेन्ट बैंकिङप्रिमियमसहित रु. ४२६
शिवम होल्डिङ्गस् लिमिटेडलगानी१,१६,००,०००सिद्धार्थ क्यापिटलप्रिमियमसहित रु. २१०
मेवा डेभलपर्स लिमिटेडजलविद्युत१,१२,००,०००हिमालयन क्यापिटलअंकित मूल्य रु. १००
अम्बे स्टिल्स लिमिटेडउत्पादनमूलक१,११,९२,७२७–प्रिमियमसहित रु. ३०३
गोदावरी स्टिल लिमिटेडउत्पादनमूलक१,०५,००,०००सानिमा क्यापिटलप्रतिवेदन प्राप्त (२०८३ वैशाख २९)

विश्लेषकहरूको मत र नयाँ नेतृत्वको चुनौती

शेयर बजारका विश्लेषकहरूका अनुसार यी ठूला कम्पनीहरूको आईपीओ स्वीकृत भएर बजारमा आउँदा बजारको पूँजीकरण मात्र बढ्ने छैन, बरु लामो समयदेखि आईपीओ नपरेर निराश भएका सर्वसाधारण लगानीकर्ताले सुनिश्चित रूपमा शेयर प्राप्त गर्ने वातावरण बन्नेछ। यस्ता मेगा आईपीओहरूले प्राथमिक बजारमा नयाँ उत्साह थप्ने र लगानीकर्ताको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ।

तर, अर्कोतर्फ बजारमा नयाँ नयाँ कम्पनी मात्रै थपिने तर ठूलो कित्ताको शेयर खरिद गर्न सक्ने संस्थागत लगानीकर्ता, वैदेशिक संस्थागत लगानीकर्ता र गैरआवासीय नेपालीहरू (NRN) नथपिँदा बजारले माथिल्लो विन्दु समात्न नसकेको गुनासो पनि बढ्न थालेको छ। त्यसैले, धितोपत्र बोर्ड (SEBON) मा हालै नेतृत्व सम्हालेका अध्यक्ष गोपाल भट्टले ठूला आईपीओ स्वीकृत गर्नेसँगै बजारमा बलिया संस्थागत र वैदेशिक लगानीकर्ता भित्र्याउने तर्फ पनि विशेष ध्यान दिनु पर्ने चुनौती देखिएको छ।