
काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले गैरकानुनी ढंगले ‘अपहरण शैली’ मा गिरफ्तार गरेको भन्दै त्यसको घोर निन्दा र भर्त्सना गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षर गरिएको प्रेस वक्तव्यमार्फत पार्टीले सरकारको यस कदमलाई राजनीतिक प्रतिशोध र अधिनायकवादी चरित्रको पराकाष्ठा भनेको छ।
पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला उपाध्यक्ष पौडेललाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ। एमालेले वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको अर्को रूप भएको दाबी गरेको छ।

‘सस्तो स्टन्ट’ का लागि बदनियतपूर्ण गिरफ्तारी
विज्ञप्ति अनुसार उपाध्यक्ष पौडेल सुर्खेतको कार्यक्रम सकेर भोलिपल्ट नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको थियो।
विधिको शासन र सामान्य कानुनी प्रक्रियाको धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उनकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्प हुँदाहुँदै नियतवश उनलाई लत्याएको आरोप एमालेले लगाएको छ।
सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्ण ढंगले गिरफ्तार गरिएको एमालेको ठहर छ।
सरकारलाई चेतावनी र सामूहिक प्रतिवादको आह्वान
वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप लगाउँदै एमालेले सरकारलाई चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्।”
साथै, एमालेले सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान समेत गरेको छ। सरकारको यस प्रकारको अधिनायकवादी कदमको पार्टीले डटेर सामना गर्ने अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा उल्लेख छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




