यी हुन् मौद्रिक नीतिका लागि बैंकर्स संघले दिएका २१ बुँदे सुझाव

-



     सफल आवाज    
     असार १० गते २०८३ मा प्रकाशित



काठमाडौं, १० असार। नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकसमक्ष आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि २१ बुँदे लिखित सुझाव बुझाएको छ।

संघले कर्जा प्रवाहमा सहजीकरण, ब्याजदर निर्धारण, डिजिटल बैंकिङ सुधार तथा वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आफ्ना महत्त्वपूर्ण सुझावहरू पेस गरेको हो। संघका सुझावहरूलाई तीनवटा क्षेत्रमा वर्गीकरण गरेर तल राखिएकाे छ:

१. कर्जा, ब्याजदर र क्षेत्रगत लगानीका सुझावहरू

  • विपन्न वर्ग कर्जाको सीमा घटाइनुपर्ने: बैंकहरूले कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने विद्यमान व्यवस्थालाई बजारको माग अनुरूप ४ प्रतिशतमा झार्नुपर्ने।
  • प्राथमिकता प्राप्त क्षेत्रमा स्वास्थ्य र शिक्षा: राष्ट्र बैंकले तोकेका प्राथमिकता प्राप्त क्षेत्रहरूमा मुलुकको आवश्यकता अनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि समावेश गरिनुपर्ने।
  • जोखिममा आधारित ब्याजदर (Risk-Based Pricing): ऋणीको जोखिम मूल्यांकन (Risk Profile) का आधारमा प्रिमियम दर परिवर्तन गर्न पाउनुपर्ने तथा बजारको तरलता र जोखिमका आधारमा सम्झौता बमोजिम प्रिमियम थपघट गर्न सकिने व्यवस्था हुनुपर्ने।
  • आधार दर र कर्जा नोक्सानी व्यवस्थामा पुनरावलोकन: विगतका मौद्रिक नीतिमा उल्लेख भए पनि हालसम्म कार्यान्वयनमा नआएको आधार दर (Base Rate) गणना विधिको पुनरावलोकन गर्नुपर्ने र अन्तर्राष्ट्रिय अभ्यास अनुरूप कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provisioning) मा लचकता ल्याउनुपर्ने।
  • सेवा शुल्क खुला बजारलाई छोड्नुपर्ने: बैंकहरूबीच प्रतिस्पर्धा बढाउन वित्तीय सेवा शुल्कसँग सम्बन्धित सीमा र दरहरू खुला बजारकै प्रतिस्पर्धाका आधारमा तोक्न पाउनुपर्ने।

२. डिजिटल बैंकिङ, प्रविधि र सुरक्षा

  • इन-एप नोटिफिकेसनलाई मान्यता: डिजिटल बैंकिङ कारोबारमा अनिवार्य एसएमएस (SMS) पठाउनुको सट्टा मोबाइल वा इन्टरनेट बैंकिङ एपभित्रै आउने ‘In-App Notification’ लाई पनि आधिकारिक सञ्चार माध्यमका रूपमा मान्यता दिनुपर्ने।
  • डिजिटल ठगी विरुद्ध साझा प्लेटफर्म: बढ्दो डिजिटल स्क्याम र फ्रडहरूबाट ग्राहकलाई जोगाउन प्रहरी, बैंक र सम्बन्धित निकायहरू आबद्ध भएको एक साझा प्लेटफर्म निर्माण गर्नुपर्ने।
  • केन्द्रीय ग्राहक पहिचान प्रणाली (Central KYC): ग्राहकको पहिचान र ‘ड्यू डेलिजेन्स’ विवरणहरूलाई एकीकृत रूपमा अभिलेख राख्न केन्द्रीय केवाईसी प्रणाली तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने।
  • क्यूआर कोडको अन्तर-आबद्धता (Interoperability): ग्राहकको सहजताका लागि विभिन्न अपरेटरहरूका क्युआर कोडहरूबीच तत्काल अन्तर-आबद्धता लागू गरिनुपर्ने।
  • व्यापार सहजीकरणका लागि साझा डिजिटल प्लेटफर्म: भन्सार, राष्ट्र बैंक र वाणिज्य बैंकहरू आबद्ध भएको आयात-निर्यातसम्बन्धी एकीकृत डिजिटल प्लेटफर्म बनाउन पहल गर्नुपर्ने।

३. संस्थागत, सञ्चालन तथा वित्तीय व्यवस्थापन

  • शाखा बन्द गर्ने नीतिमा सहजीकरण: महानगरपालिका बाहेक उपमहानगरपालिका र धेरै शाखाहरू भएका नगरपालिकाहरूमा पनि राष्ट्र बैंकको पूर्वस्वीकृति बिना नै शाखा बन्द गर्न पाउने व्यवस्था हुनुपर्ने।
  • निष्क्रिय खाता बन्द गर्ने अवधि ५ वर्ष: १० वर्षदेखि शून्य मौज्दात रहेका खाता बन्द गर्न सकिने व्यवस्थालाई ५ वर्षमा झार्नुपर्ने र ग्राहकले डिजिटल माध्यमबाटै खाता बन्द गर्न सक्ने सुविधा हुनुपर्ने।
  • वित्तीय साक्षरतालाई सीएसआरमा समेट्न पाइने: बैंक तथा वित्तीय संस्थाका संघहरूमार्फत गरिने वित्तीय साक्षरता कार्यक्रमहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गणना गर्न पाउनुपर्ने।
  • गैर-बैंकिङ सम्पत्ति भाडामा दिन पाउनुपर्ने: बैंकहरूले आफ्नो स्वामित्वमा आएका गैर-बैंकिङ सम्पत्तिलाई भाडामा लगाएर उपयोग गर्न सक्ने गरी कानूनी व्यवस्था गरिनुपर्ने।
  • धितोपत्र र सेकेन्डरी मार्केट: सुरक्षण पत्रहरूलाई नगदमा परिणत गर्न सेकेन्डरी मार्केट स्थापना गरिनुपर्ने तथा डिबेन्चर भुक्तानी कोष (Debenture Redemption Fund) को रकम बोनस सेयर जारी गर्न उपयोग गर्न पाउनुपर्ने।

अन्य सुझावहरू: संघले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल लगानीमा सहजीकरण गर्न, विदेशमा शाखा खोल्ने नीतिमा पुनरावलोकन गर्न, आईएनआर पोजिसनको निश्चित अंशलाई नेट ओपन पोजीसन (NOP) गणनाबाट छुट दिन र नीतिगत प्रष्टताका लागि राष्ट्र बैंकभित्र एउटा स्थायी प्रष्टता संयन्त्र स्थापना गर्नसमेत माग गरेको छ।