
काठमाडौं, १० असार । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आफ्ना सुझावहरू पेस गरेको छ ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गरी आगामी मौद्रिक नीतिका लागि सुझाव पत्र हस्तान्तरण गर्नुभएको हो ।
सुझाव पत्र बुझाउँदै परिसंघले देशको बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक र बलियो अवस्थामा रहे पनि आन्तरिक आर्थिक गतिविधिहरू भने लामो समयदेखि लयविमुख रहेको औंल्याएको छ । यही संवेदनशीलतालाई मध्यनजर गर्दै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन परिसंघले जोड दिएको छ ।
तीन मुख्य पक्षमा केन्द्रित हुन सुझाव
परिसंघले आगामी मौद्रिक नीतिलाई विशेष गरी तीनवटा क्षेत्रमा केन्द्रित गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ: १. तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढाउने । २. मौद्रिक नीतिगत अभ्यासमा परिमार्जन एवं सुधार गर्ने । ३. नेपाल राष्ट्र बैंकको संरचनागत सुधारतर्फ कदम चाल्ने ।
परिसंघका प्रमुख माग तथा सुझावहरू:
- निर्देशित कर्जा र कार्यशील पूँजी: निर्देशित कर्जाको सीमालाई चरणबद्ध रूपमा प्रतिशतका आधारमा घटाउन र कार्यशील पूँजी सम्बन्धी मार्गदर्शनलाई क्षेत्रगत आधारमा लागू गर्न सुझाव दिइएको छ ।
- ब्याजदर र कर्जा वर्गीकरण: ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न तथा धितोयुक्त कर्जाको वर्गीकरण एवं कालोसूचीकरणको विद्यमान समयसीमालाई विस्तार गर्न माग गरिएको छ ।
- स्टार्टअपका लागि विशेष व्यवस्था: सरकारको ‘इन्टरप्राइज फ्यासिलिटी’ सँग आबद्ध भएका स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न परिसंघले आग्रह गरेको छ ।
- संरचनागत सुधार: नेपाल राष्ट्र बैंकभित्र एउटा अधिकारसम्पन्न ‘मौद्रिक नीति समिति’ गठन गर्नुपर्ने सुझाव समेटिएको छ
हस्तान्तरण कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले वर्तमान अवस्थामा बजारको माग बढाउन, लगानीकर्ताहरूको आत्मविश्वास उकास्न र समग्र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति आउने अपेक्षा राखेको बताउनुभयो ।
वित्तीय स्थायित्वमा केन्द्रित हुने गभर्नरको प्रतिबद्धता
परिसंघको सुझाव पत्र ग्रहण गर्नुहुँदै गभर्नर डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति मुख्यतया ब्याजदर स्थायित्व र वित्तीय क्षेत्रको स्थायित्व सुनिश्चित गर्नमा केन्द्रित हुने स्पष्ट पार्नुभयो । निजी क्षेत्र नै देशको अर्थतन्त्रको प्रमुख चालक भएको चर्चा गर्दै गभर्नर पौडेलले लगानी मैत्री वातावरण निर्माण र आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न नियामक निकाय (राष्ट्र बैंक) र उद्योग क्षेत्रबीच आगामी दिनमा पनि घनिष्ठ समन्वय अपरिहार्य रहने उल्लेख गर्नुभयो ।
सुझाव हस्तान्तरणका क्रममा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य शशिकान्त अग्रवाल, तथा परिसंघ बैंक तथा वित्तीय समितिका सभापति वरुण कुमार तोदी लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




