सेयर बजारमा आज पनि गिरावट, नेप्से साढे ८ अङ्कले ओर्लियो

-



     सफल आवाज    
     असार ११ गते २०८३ मा प्रकाशित



काठमाडौं, ११ असार । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज (बिहीबार) पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ८.५० अङ्कले घटेर २,६५१.५२ को बिन्दुमा सीमित भएको हो।

त्यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६४ अङ्कले ओरालो लाग्दै ४५८.२३ को बिन्दुमा आइपुगेको छ।

२ अर्ब ८३ करोडको कारोबार

बजार ओरालो लागे पनि कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ। आज कुल ३३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर रु २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मूल्यमा खरिद-बिक्री भएको छ।

सोपान फर्मासिटिकल्सको सर्वाधिक कारोबार

आज कारोबार रकमका आधारमा सोपान फर्मासिटिकल्स लिमिटेड शीर्ष स्थानमा रहन सफल भयो। यसका साथै सर्वाधिक कारोबार हुने शीर्ष पाँच कम्पनीहरूमा क्रमशः:

  • रिलायन्स स्पिनिङ मिल्स
  • सप्तकोशी डेभलपमेन्ट बैंक
  • आँखुखोला जलविद्युत् कम्पनी
  • नेपाल एसबिआई बैंक

कमाउने र गुमाउने कम्पनीहरू

बजार घटे पनि केही जलविद्युत् र लघुवित्तका लगानीकर्ताले राम्रो नाफा कमाएका छन्। नेप्सेका अनुसार आज टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताहरू सर्वाधिक कमाउने सूचीमा परेका छन्।

भने अर्कोतर्फ, भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिबेन्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरूले भने आज गुमाएका छन्।