‘सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई के कारबाही हुन्छ ?’ : सांसद रेनु चन्द

-



     सफल आवाज    
     असार १२ गते २०८३ मा प्रकाशित



काठमाडौं, १२ असार । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रेनु चन्दले सुकुम्बासीको खानामा किरा भेटिएको विषयलाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्री सुधन गुरुङलाई यस विषयमा सरकारलाई के कारबाही हुन्छ भन्दै प्रश्न गरेकी हुन् ।

बैठकमा विशेष समय लिएर बोल्दै सांसद चन्दले केही समयअघि गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएको घटनामा जरिवाना गरिएको प्रसङ्ग उल्लेख गरिन् । उनले भनिन्, “मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, तीन लाख जरिवाना लाउनुभयो । ठिक गर्नुभयो । तर सुकुम्बासीको खानामा किरा भेटियो, अब सरकारलाई कति जरिवाना लाउँदै हुनुहुन्छ ? अथवा सरकारलाई के कारबाही गर्दै हुनुहुन्छ ?”

सरकारमाथि उठिवास लगाएको आरोप

सांसद चन्दले सरकारले सुकुम्बासीमाथि अन्यायपूर्ण र अमानवीय व्यवहार गरेको आरोप समेत लगाइन् । निर्वाचनका बेला सुकुम्बासीलाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएर मत माग्ने तर सत्तामा पुगेपछि उनीहरूको उठिवास लगाउने काम भइरहेको उनको भनाइ थियो । अहिले सरकारले होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई जबर्जस्ती हटाउने कार्य गरिरहेको भन्दै उनले आपत्ति जनाइन् ।

वर्तमान सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै उनले अगाडि भनिन्: “सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठिबास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको ? अहिले सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ । हामी नयाँ हौँ, हर समस्याको समाधान गर्ने जादुयी क्षमता बोकेर आएका छौँ भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन् गर्ने ? यो सरकारमा वैचारिक स्पष्टता छैन ।”

सांसद चन्दले आफूहरूलाई सबै समस्या समाधान गर्ने भन्दै प्रस्तुत गर्ने सरकारले अहिले सडकका गरिब र सुकुम्बासीको न्यूनतम मानवअधिकार समेत हनन गरिरहेको आरोप लगाउँदै यसप्रति सरकारको स्पष्ट जवाफ माग गरेकी छन् ।