
काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिका सदस्य रहेको विषयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे सरकारसँग जवाफ मागेकी छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद काउचाले रास्वपाको सदस्यता विवरणअनुसार १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको औपचारिक तथ्यांक सार्वजनिक भएको उल्लेख गर्दै त्यसले संविधान, राजनीतिक दलसम्बन्धी ऐन र बालबालिकासम्बन्धी ऐनको उल्लंघन गरेको दाबी गरिन्।
उनले नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन नपाइने व्यवस्था रहेको स्मरण गराउँदै यस्तो कार्य गरेमा जरिवाना र कैदसम्मको कानुनी व्यवस्था रहेको बताइन्।
सांसद काउचाले बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरेको उल्लेख गर्दै रास्वपाले ठूलो संख्यामा बाल सदस्य राखेको विषयमा छानबिन र कानुनी कारबाही आवश्यक छ कि छैन भन्ने प्रश्न उठाइन्।
उनले विद्यार्थीहरूले राजनीति गर्नु हुँदैन भन्दै स्ववियु लगायतका विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी भइरहेको अवस्थामा सत्तारुढ दलले आफ्नै पार्टीमा बालबालिकालाई सदस्य बनाउनु र राजनीतिक गतिविधिमा संलग्न गराउनु दोहोरो मापदण्ड भएको आरोप लगाइन्।
सांसद काउचाले रास्वपा संविधान र कानुनभन्दा माथि नरहेको उल्लेख गर्दै सबै राजनीतिक दलले समान रूपमा कानुनको पालना गर्नुपर्नेमा जोड दिइन्। साथै, प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिँदा पदको गरिमा, जिम्मेवारी र त्यसले पार्ने कूटनीतिक प्रभावप्रति पनि सदैव सचेत रहनुपर्ने धारणा व्यक्त गरिन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




