
काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई सहयोग पुग्ने गरी नयाँ मौद्रिक नीति ल्याउने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रवक्ता पौडेलले यस्तो जानकारी दिएका हुन् ।
“अभूतपूर्व रूपमा ज्यादै ठूलो जनविश्वास र जनाधार प्राप्त सरकारले ल्याएको बजेट र त्यो बजेटले जुन दिशा निर्देश गर्न खोजेको छ, त्यसलाई सपोर्ट हुने किसिमले नेपाल राष्ट्र बैंकले मनिटरी पोलिसी बनाउनुपर्ने छ,” प्रवक्ता पौडेलले भने, “हामी अहिले यसकै गृहकार्यमा लागिरहेका छौं ।”
सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) यो वर्ष आउनेमा आशावादी
बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना हुनेमा आफू आशावादी रहेको उनले बताए । सरकारले समयसीमा तोकेर नै यस कार्यमा अगाडि बढ्ने घोषणा गरेकाले यसै वर्ष सम्पत्ति व्यवस्थापन कम्पनी आउने उनको भनाइ छ ।
“एसेट म्यानेजमेन्ट कम्पनी २०५७/५८ सालदेखि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले उठाउँदै आएको विषय हो,” उनले थपे, “अहिलेको सरकारले पनि यसलाई उठाएको छ । त्यसकारण यसले मूर्त रूप लिन्छ भन्ने बारेमा हामी आशावादी छौँ ।”
पर्याप्त तरलता हुँदा पनि कर्जा विस्तार हुन सकेन
प्रवक्ता पौडेलका अनुसार अहिले वित्तीय प्रणालीमा ब्याजदर एकदमै घटेर गइरहेको छ भने बैंकहरूमा पर्याप्त मात्रामा तरलता उपलब्ध छ । तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले अर्बौँ रुपैयाँ खर्चेर ब्याजदरलाई एउटा सीमासम्म कायम गर्न काम गरिरहेको समेत उनले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाहरू तुलनात्मक रूपमा कर्जा प्रवाह गर्न सक्ने उच्च क्षमतामा रहे पनि बजारमा ऋणको विस्तार हुन नसकेको प्रति उनले चासो व्यक्त गरे । “तर किन कर्जा गइरहेको छैन ? सरकारले पुँजीगत विकास निर्माणका कामहरू गर्न खोजिरहेको छ, प्राइभेट सेक्टर पनि अगाडि आउन खोजिरहेको छ । यस्तो अवस्थाबाट पार कसरी पाउन सकिन्छ भन्ने कुरालाई हामीले हेर्नुपर्छ,” उनले भने ।
बिनाकागजात कर्जा प्रवाह गर्ने सिस्टमको तयारी
राष्ट्र बैंकले पछिल्लो समय साना क्षेत्रमा कर्जा प्रवाह बढाउन विशेष जोड दिएको पौडेलले बताए । साना क्षेत्र अन्तर्गत १० लाख रुपैयाँसम्मको कर्जा बैंक तथा वित्तीय संस्था आफैँले मूल्याङ्कन गरेर प्रवाह गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
यस्तै, आगामी दिनमा प्रविधिको प्रयोगमार्फत बिनाकागजात कर्जा उपलब्ध गराउने तयारी भइरहेको समेत उनले खुलासा गरे । उनले भने, “पी-टू-पी लेन्डिङ (P2P Lending) को माध्यमबाट कागजात बिना नै कर्जा प्रवाह गर्न सक्ने खालको सिस्टमको सुरुवात गर्ने गरी हामी अगाडि बढ्न खोजिरहेका छौँ ।”








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




