
काठमाडौं, १४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) नेपाली कम्युनिस्ट आन्दोलनको मौलिक र मार्गदर्शक सिद्धान्त रहेको बताउनुभएको छ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।
अध्यक्ष ओलीले मदन भण्डारीको वैचारिक योगदानको चर्चा गर्दै सम्बोधनको भन्नुभयो: “मदन भण्डारी केवल एउटा नेता मात्र नभएर नेपाली क्रान्तिका मौलिक सिद्धान्तकार हुनुहुन्थ्यो। उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादकै वैचारिक जगमा आज नेपालको कम्युनिस्ट आन्दोलन यो उचाइसम्म आइपुगेको हो। उहाँकाे आदर्श, सादगी र जनताप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै अघि बढ्नु आजको आवश्यकता हो।”
प्रतिगमन लुकाउन चुनावको नाटक
मन्तव्यका क्रममा संसद् विघटनको सन्दर्भ निकाल्दै अध्यक्ष ओलीले विगतको कदम प्रतिगमन नभएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “देशप्रतिको कदमलाई सफल बनाउनका लागि, त्यसलाई सही ठहऱ्याउनका लागि र त्यसलाई वैधानिकता दिनका लागि विघटन गरेको संसद्को फेरि दुई-चार महिनामा चुनाव गरिएको हो।”
उहाँले उक्त निर्वाचन लोकतन्त्र वा वामपन्थी शक्तिहरूको हितका लागि नभई एउटा गम्भीर षड्यन्त्रस्वरूप रचिएको आरोप लगाउनुभयो। ओलीले थप्नुभयो, “यो चुनाव वैधानिक ढंगले अगाडि बढाउनका लागि होइन, बरु लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई नै निस्तेज पारेर तिनलाई समाप्त पार्ने, तिनलाई किनारा गर्ने षड्यन्त्रस्वरूप परिणाम पहिले नै घोषणा गरेर एउटा प्रतिकूल अवस्थामा निर्वाचन गरिएको हो।” एमालेले सचेत गराउँदा गराउँदै पनि अन्य दलहरूले यसलाई ‘हाइवे’ ठानेर हिँडेको तर अन्ततः सबै खाल्डोमा परेको टिप्पणी उहाँले गर्नुभयो।
सीमा विवाद र सरकारको आलोचना
अध्यक्ष ओलीले सीमा मिचिएको विषयमा आएका अभिव्यक्ति र वर्तमान सरकारको कामकारबाहीप्रति कडा आक्रोश व्यक्त गर्नुभयो। नेपालले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिचेको भनी बजारमा फैलाइएका हल्लाहरूलाई ‘झूट, भ्रम, र देशविरोधी कुरा’ को संज्ञा दिँदै उहाँले भन्नुभयो, “लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरा एउटा बेग्लै कुरा हो, तर नेपालले भारतको भूमि मिचेको छ भन्ने कुरामा विवाद उठाइयो, जसको सरकारले कतै खण्डन गरेको छैन।”
श्रमजीवी र अन्तर्राष्ट्रिय संगठन (ILO) को सन्दर्भ
अध्यक्ष ओलीले सरकारले संसद् रोकेर संविधानविपरीत अध्यादेशहरू जारी गरेको आरोप समेत लगाउनुभयो। संयुक्त राष्ट्रसंघ भन्दा पनि पुरानो अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले मार्गनिर्देश गरेका मजदुर र श्रमजीवीहरूका ट्रेड युनियन अधिकार तथा सामूहिक सौदाबाजी (Collective Bargaining) को सिद्धान्त र अधिकारहरूलाई वर्तमान सरकारले खोस्ने काम गरेको उहाँको आरोप थियो। उहाँले संसद्लाई छलेर ल्याइएका यस्ता अध्यादेशहरू पूर्ण रूपमा संविधानविपरीत र अलोकतान्त्रिक भएको दाबी गर्नुभयो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




