६ लघुवित्तमाथि राष्ट्र बैंकको कारवाही, ५ वटा ‘शिघ्र सुधारात्मक कारवाही’मा

-



     सफल आवाज    
     असार १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ असार। नियामकिय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारवाही गरेको छ। राष्ट्र बैंकको कारवाहीमा परेका ६ लघुवित्त मध्ये ५ वटा संस्थामाथि ‘शिघ्र सुधारात्मक कारवाही’ (Prompt Corrective Action – PCA) प्रक्रिया अघि बढाइएको छ भने केही संस्थालाई अन्य भिन्न कसुरमा सचेत गराइएको छ।

पुँजीकोष घट्दा ५ लघुवित्तमाथि ‘शीघ्र सुधारात्मक कारवाही’

तोकिएको मापदण्ड अनुसार पुँजीकोष अनुपात (Capital Adequacy Ratio) कायम गर्न नसकेका कारण ५ वटा लघुवित्तहरू ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ (क) बमोजिम कारवाहीमा परेका हुन्।

कारवाहीमा परेका संस्थाहरू र तिनको पुँजीकोषको अवस्था:

लघुवित्तको नामविवरण (अवधि)कायम पुँजीकोष अनुपात
आरम्भ चौतारी लघुवित्तआर्थिक वर्ष २०८२ असार मसान्त७.७७ प्रतिशत
सामुदायिक लघुवित्तआर्थिक वर्ष २०८२ असार मसान्त६.१२ प्रतिशत
सीवाईसी नेपाल लघुवित्तआर्थिक वर्ष २०८२ असार मसान्त६.२० प्रतिशत
नेरुडे मिर्मिरे लघुवित्तआर्थिक वर्ष २०८२ असार मसान्त६.०१ प्रतिशत
गणपति लघुवित्त२०८२ असोज मसान्त६.०६ प्रतिशत

कारवाहीपछि यी संस्थाहरूमा के-के अंकुश लाग्छ?

  • लाभांशमा रोक: यी लघुवित्तहरूले शेयरधनीहरूका लागि नगद लाभांश तथा बोनस शेयर घोषणा गर्न पाउने छैनन्।
  • विस्तारमा रोक: नयाँ शाखा कार्यालयहरू विस्तार गर्न पाइने छैन।
  • सुविधा वृद्धिमा रोक: संस्थाका सञ्चालकहरूको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी अधिकृत (CEO) लगायत उच्च व्यवस्थापनको तलब, भत्ता र सुविधा वृद्धि गर्न पाइने छैन।
  • स्पष्ट योजना माग: राष्ट्र बैंकले यी संस्थाहरूको उच्च व्यवस्थापनसँग सुधारका कार्यहरूका लागि छलफल गर्नेछ र पुँजी वृद्धिको स्पष्ट योजना माग गर्नेछ।

धौलागिरी, सीवाईसी र नेरुडे मिर्मिरेलाई अन्य कसुरमा पनि कारवाही

शीघ्र सुधारात्मक कारवाहीका अतिरिक्त धौलागिरी लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तलाई अन्य नीतिगत उल्लंघनका कसुरमा राष्ट्र बैंकले सचेत गराएको छ:

  • धौलागिरी लघुवित्त (सञ्चालक समिति सचेत): संस्थाको ‘कर्मचारी सेवा विनियमावली, २०८०’ को विनियम ९५ मा रहेको व्यवस्थाको मर्म विपरीत नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गरेको र कुनै स्पष्ट आधार बिना नै संस्थामा बहाल नरहेको अवधिको रकम नियम विपरीत भुक्तानी गरेको पाइएकाले, उक्त निर्णयमा संलग्न सञ्चालक समितिलाई अब उप्रान्त यस्ता कार्य नगर्न सचेत गराइएको छ।
  • सीवाईसी नेपाल लघुवित्त (सञ्चालक समिति सचेत): सञ्चालक समितिले सवारी साधन खरिद गर्दा संस्थाको ‘आर्थिक प्रशासन विनियमावली’ मा भएको व्यवस्थाबमोजिम तोकिएको खर्च सीमा तथा अख्तियारी पालना नगरेकाले अब उप्रान्त यस्तो कार्य नगर्न सचेत गराइएको छ।
  • नेरुडे मिर्मिरे लघुवित्त (CEO सचेत): संस्थाले कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम गरेको ८१.५५ करोड रुपैयाँ फिर्ता गरी आम्दानी जनाउँदा, उक्त रकम कुन-कुन ऋणीको हो भन्ने यकिन विवरण बिना नै आम्दानी लेखाङ्कन (Accounting) गरेको पाइएकाले राष्ट्र बैंकले संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) लाई अब उप्रान्त यस्तो कार्य नदोहोर्याउन सचेत गराएको छ।