मर्जर र आईपीओको लहर-सोपानको सर्वाधिक कारोबार

-



     सफल आवाज    
     असार १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ असार। नेपालको पुँजी बजारमा जलविद्युत र वित्तीय क्षेत्रको बाहुल्यता रहँदै आएको पृष्ठभूमिमा पछिल्लो समय उत्पादन तथा प्रशोधन समूह अन्तर्गत औषधि उत्पादन क्षेत्रको व्यावसायिक चहलपहल तीव्र बनेको छ।

जनस्वास्थ्यसँग जोडिएको यो क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने नीतिगत प्रयास भइरहँदा दोस्रो बजारमा नयाँ व्यावसायिक एकता, मर्जर र विस्तारका ठूला संकेतहरू देखा परेका छन्।

हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुईवटा मात्र औषधि उत्पादक कम्पनी सूचीकृत भएपनि यस क्षेत्रमा नयाँ मर्जर, प्राथमिक शेयर निष्कासन (IPO) र प्रि–आईपीओ शेयर निष्कासनको नयाँ लहर सुरु भएको छ।

ओम मेगाश्रीले रोयल फर्मालाई प्राप्ति गर्दै, असार २८ मा विशेष साधारण सभा

पछिल्लो समय दोस्रो बजारमा सूचीकृत ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले नेप्सेमा सूचीकृत नभएको संस्था रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति (Acquisition) गर्ने प्रक्रिया अगाडि बढाएसँगै बजारमा नयाँ तरंग पैदा भएको छ। दुवै कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भई नेपाल धितोपत्र बोर्ड (SEBON), नेप्से र सिडिएससी (CDSC) लाई समेत औपचारिक जानकारी गराइसकेको छ।

यस प्रक्रियालाई अन्तिम रूप दिन ओम मेगाश्रीले असार २८ गते विशेष साधारण सभा आह्वान गरेको छ। सभाले सम्पत्ति तथा दायित्व मूल्यांकन (DDA), शेयर स्वाप अनुपात र पुँजी वृद्धिका मुख्य एजेन्डाहरू पारित गर्नेछ। यो प्राप्तिपछि कम्पनीको व्यवसाय, उत्पादन क्षमता र बजार हिस्सा अझ बलियो हुने अपेक्षा गरिएको छ।

बजारमा सोपान फर्मास्युटिकल्सको दबदबा: दैनिक ३७ करोडमाथिको कारोबार

हाल दोस्रो बजारमा औषधि उत्पादन क्षेत्रबाट ओम मेगाश्री र सोपान फर्मास्युटिकल्स लिमिटेड मात्र सक्रिय छन्। सोपान हालै मात्र १ करोड ७१ लाख कित्ताभन्दा बढी शेयरसहित बजारमा प्रवेश गरेको नयाँ कम्पनी हो।

कारोबार सुरु भएको छोटो समयमै यसले लगानीकर्ताको ठूलो ध्यान तानेको छ। पछिल्ला दिनहरूमा दैनिक ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदै सोपान नेप्सेको सर्वाधिक कारोबार हुने कम्पनीको अग्रपंक्तिमा देखिन थालेको छ, जसले यस क्षेत्रप्रति लगानीकर्ताको आकर्षण कति उच्च छ भन्ने पुष्टि गर्दछ।

आईपीओ पाइपलाइनमा नयाँ कम्पनीहरू, धितोपत्र बोर्डले पायो नयाँ नेतृत्व

धितोपत्र बोर्डका अधिकारीहरूका अनुसार अन्य धेरै औषधि र स्वास्थ्य सेवा प्रदायक कम्पनीहरू पनि प्राथमिक शेयर निष्कासनको आन्तरिक तयारीमा जुटेका छन्।

पाइपलाइन तथा तयारीमा रहेका कम्पनीहरूको अवस्था:

  • कान्तिपुर र निभिक्स फर्मास्युटिकल्स: साधारण सभाबाट शेयर निष्कासन प्रस्ताव स्वीकृत गराई धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा चढिसकेका छन्।
  • सुप्रिम हेल्थकेयर लिमिटेड: स्वास्थ्य सामग्री, उपकरण वितरण तथा औषधि उत्पादनमा सक्रिय यो कम्पनी पनि बोर्डको पाइपलाइनमा आइसकेको छ।
  • युनिक फार्मास्युटिकल्स: सुप्रिमकै भगिनी संस्थाको रूपमा रहेको यो औषधि उद्योग पब्लिक लिमिटेडमा रूपान्तरण भई शेयर निष्कासनकै प्रक्रियामा छ।
  • मारुती र मकालु फर्मास्युटिकल्स: पब्लिक लिमिटेडमा रूपान्तरण भई रेटिङ र बिक्री प्रबन्धक नियुक्तिको गृहकार्यमा जुटेका छन्। कतिपय कम्पनीले प्रि-आईपीओ र प्राइभेट प्लेसमेन्टको कामलाई समेत तीव्रता दिएका छन्।

बोर्डमा नेतृत्व आएसँगै फाइल अगाडि बढ्ने: धितोपत्र बोर्डमा लामो समयदेखि स्थायी अध्यक्ष नहुँदा ९८ भन्दा बढी कम्पनीको करिब ६६ अर्ब रुपैयाँ बराबरको शेयर स्वीकृति प्रक्रिया ठप्प बनेको थाल्यो। तर, सरकारले हालै मात्रै धितोपत्र बोर्ड अध्यक्षको रुपमा डा. गोपाल भट्टलाई नियुक्ति गरेसँगै अब औषधि क्षेत्रका कम्पनीहरूको फाइल अगाडि बढ्ने र उद्योगहरूले पुँजी संकलन गरी व्यवसाय विस्तार गर्न पाउने बाटो खुलेको छ।

औषधि व्यवस्था विभाग र बजार विश्लेषकको मत

औषधि क्षेत्रको नियामक निकाय औषधि व्यवस्था विभागले औषधि उत्पादक कम्पनीहरू पुँजी बजारमा आउनु र उनीहरूबीच मर्जर हुनुलाई सकारात्मक रूपमा लिएको छ। विभागका अनुसार नेपालमा हाल ८० भन्दा बढी स्वदेशी औषधि उद्योगहरू सञ्चालनमा छन्, जसले कुल मागको झन्डै ४५ देखि ५० प्रतिशत हिस्सा धान्दै आएका छन्।

यो संवेदनशील क्षेत्रका कम्पनीहरू पब्लिकमा जाँदा वित्तीय पारदर्शिता बढ्ने र विश्व स्वास्थ्य संगठनको ‘जीएमपी’ (GMP) को गुणस्तर कायम गर्न संस्थागत मद्दत पुग्ने विभागको विश्वास छ।

समग्रमा, वित्तीय र जलविद्युत क्षेत्रको चाप रहेको बजारमा औषधि कम्पनीहरूको आगमनले लगानीकर्ताहरूलाई लगानी विविधीकरण (Diversification) को उत्कृष्ट अवसर दिएको छ। बोर्डमा नयाँ नेतृत्व आएसँगै आगामी दिनमा देउराली–जनता, क्यूमेड वा एसियन फर्मास्युटिकल्स जस्ता स्थापित ब्रान्डहरूलाई पनि पुँजी बजारमा आउन बाटो खुल्ने र यसले समग्र बजारमा नयाँ आयाम थप्ने आकलन गरिएकाे छ।