यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

-



     सफल आवाज    
     असार १९ गते २०८३ मा प्रकाशित



काठमाडौं, १९ असार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेका अनुसार कम्पनीको ४.२८५७ प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता शेयरमूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ। समायोजन अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा गरिएको हो। बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ४६३ रुपैयाँ ९० पैसा मा अन्तिम कारोबार भएको थियो।

आजको कारोबारदेखि कम्पनीको शेयर यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा किनबेच हुनेछ।

यसैबीच, यूनाइटेड अजोड इन्स्योरेन्सले असार ३१ गते बुधबार बिहान १०ः३० बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स प्रा.लि. मा आफ्नो ३२औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सभामा हाल कायम रहेको दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने तथा बोनस शेयरको कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।

यसका साथै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची पनि सभामा समावेश गरिएको कम्पनीले जनाएको छ।