
काठमाडौं १९ असार । नेपाली सेयर बजारमा पछिल्लो समय मागभन्दा आपूर्तिको चाप अत्यधिक बढ्दा नेप्से सूचक लगातार ओरालो लागिरहेको छ।
बजारमा एकातिर नयाँ साधारण सेयर (IPO), हकप्रद (Right Share) र बोनस सेयरको बाढी आइरहेको छ भने अर्कोतिर ठूला कम्पनीहरूको लकइन अवधि समाप्त भएसँगै करोडौँ कित्ता सेयर बजारमा थपिँदा नेप्से थप दबाबमा परेको छ।
बजारलाई दिगो विकास र स्थिरताको बाटोमा लैजान आपूर्ति पक्षलाई भन्दा मागलाई बढावा दिनुपर्ने लगानीकर्ताहरूको बुझाइ छ। पर्याप्त माग सिर्जना हुन नसकेको वर्तमान अवस्थामा बजारमा आपूर्ति मात्र थपिँदै जाँदा सेयरले उचित मूल्य पाउन सकेको छैन, जसले समग्र बजारलाई नै कमजोर बनाउँदै लगेको सरोकारवालाहरू बताउँछन्।
१० दिनभित्र ४ कम्पनीको ७ करोड ४६ लाख कित्ता सेयर थपिँदै
यसैबीच, आगामी १० दिन भित्रमा नै लकइन अवधि समाप्त भएका विभिन्न चारवटा कम्पनीका करोडौँ कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि आउने भएका छन्। चालू असार मसान्तभित्र मात्रै ७ करोड ४६ लाख ८२ हजार कित्ताभन्दा बढी सेयरको लकइन अवधि समाप्त भएर बजारमा आउने तयारीमा छ।
यस महिनामा थ्रीस्टार हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर, आइएमई लाइफ इन्स्योरेन्स र घोराही सिमेन्ट इन्डस्ट्रिजको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीतर्फको ठूलो परिमाणको सेयर कारोबारका लागि खुला हुन लागेको हो।
कुन कम्पनीको कति सेयर खुल्दैछ ?
| क्र.सं. | कम्पनीको नाम | खुला हुन लागेको सेयर परिमाण (कित्ता) |
| १ | घोराही सिमेन्ट इन्डस्ट्रिज | ४,०३,१८,००० भन्दा बढी |
| २ | आइएमई लाइफ इन्स्योरेन्स | २,८६,००,००० |
| ३ | थ्रीस्टार हाइड्रोपावर | ४२,०१,००० |
| ४ | अप्पर स्याङ्गे हाइड्रोपावर | १५,६३,००० |
| कुल | जम्मा | ७,४६,८२,००० भन्दा बढी |
लगानीकर्तामा त्रास: मूल्यमा गिरावट आउने अनुमान
यति छोटो अवधिमा यति ठूलो परिमाणमा सेयरको आपूर्ति थपिँदा बजारमा बिक्री चाप (Selling Pressure) अत्यधिक बढ्ने र सम्बन्धित कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आउने अनुमान आम लगानीकर्ताहरूले गरेका छन्।
“बजारमा पहिले नै खरिदकर्ताको उत्साह कम छ। यस्तो अवस्थामा संस्थापकरूको ठूलो हिस्सा बजारमा आउँदा आपूर्ति धान्न मुस्किल पर्छ र यसले नेप्से सूचकलाई अझै तल धकेल्ने जोखिम रहन्छ,” एक लगानीकर्ताले बताए।
नियामक निकायले बजारमा माग बढाउने खालका नीतिगत व्यवस्था नगरेसम्म यस्ता आपूर्तिको भारले सेयर बजारलाई थप केही समय शिथिल बनाइराख्ने विश्लेषकहरूको भनाइ छ।तस्विर: एआइबाट बनाइएकाे हाे ।








काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा… 




