
काठमाडौं, २१ असार । जेन्जी आन्दोलन र जनआदेशको जगमा गठन भएको प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको छ।
सरकार गठन भएकै दिन स्वीकृत गरिएको शासकीय सुधारका १०० कार्यसूचीलाई मुख्य आधार बनाउँदै यस अवधिमा भ्रष्टाचार नियन्त्रण, वित्तीय अपराधको अन्त्य, र प्रशासनिक मितव्ययिताका क्षेत्रमा दूरगामी एवं परिणाममुखी उपलब्धि हासिल भएको दाबी सरकारले गरेको छ।
पहिलो वर्षलाई ‘शासकीय सुधारको आधार वर्ष’ का रूपमा अघि बढाउँदै सरकारले विगत लामो समयदेखिको राजनीतिक भागबन्डा र नीतिगत सेटिङको परम्परालाई तोड्न कडा नीतिगत तथा संरचनागत कदम चालेको छ। विशेष गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान र सरकारी जग्गा संरक्षणमा सरकारले ऐतिहासिक सफलता प्राप्त गरेको जनाइएको छ।
प्रशासनिक खर्चमा व्यापक कटौती र बेथितिमाथि डन्डा
प्रशासनिक बोझ घटाउन साविकका २२ मन्त्रालयलाई घटाएर १८ मा सीमित गरेको छ भने अनुत्पादक ३१ वटा सरकारी निकायहरू खारेज गरी प्रशासनिक खर्चमा व्यापक कटौती गरेको छ। यसैगरी, पहुँचवालाहरूले नियमविपरीत प्रयोग गर्दै आएका ६७२ वटा सवारी साधनहरू जफत गरी राज्यको मातहतमा ल्याइएको छ।
‘हेलो सरकार’ को सुदृढीकरण, ‘शून्य फाइल सप्ताह’ को सुरुवात र नागरिकता तथा राहदानी नागरिककै घरदैलोमै पुर्याउने अभियानले विधिको शासन र नागरिककेन्द्रित शासन प्रणाली स्थापनाको बलियो जग बसालेको सरकारको निष्कर्ष छ।
सरकारका १०० दिनका १० मुख्य उपलब्धिहरू:
- भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिन: वि.सं. २०६२/०६३ देखि २०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली ‘सम्पत्ति छानविन आयोग’ गठन गरिएको छ। आयोगमा हालसम्म ११ हजारभन्दा बढी उजुरी र विवरण संकलन भइसकेका छन्। यसका साथै सम्पत्ति शुद्धीकरण विभागमार्फत ११८ अर्ब रुपैयाँ बराबरको बिगो दाबीसहित १०१ जना विरुद्ध मुद्दा दायर गरिएको छ।
- बालमन्दिर र एनसेल प्रकरणमा अनुसन्धान: नेपाल बाल संगठनको जग्गा हिनामिना र एनसेलको सेयर खरिद-बिक्री विवाद सम्बन्धी उच्चस्तरीय प्रतिवेदन कार्यान्वयन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मार्फत ठगी र आपराधिक विश्वासघातको मुद्दामा कडा अनुसन्धान अघि बढ़ाइएको छ।
- अनलाइन सट्टेबाजीमा रोक: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयबमोजिम अवैध अनलाइन सट्टेबाजी (Betting) गराउने २ लाखभन्दा बढी डोमेन लिंकहरू २४ घण्टाभित्र बन्द गरिएका छन्।
- दलीय ट्रेड युनियन खारेजी: सार्वजनिक निकायहरूमा हुने राजनीतिकरण अन्त्य गर्न अध्यादेशमार्फत दलीय ट्रेड युनियनहरू पूर्ण रूपमा खारेज गरी राष्ट्रसेवकहरूलाई कामप्रति उत्तरदायी बनाइएको छ।
- राजस्व संकलनमा कडाइ: त्रिभुवन विश्वविद्यालयका तोकिएको समयमा नफर्किएका ४०० प्राध्यापकहरूमाथि कारबाही गरी १३ करोड २६ लाख रुपैयाँ र औद्योगिक क्षेत्रको ४३ करोด ४८ लाख रुपैयाँ बक्यौता राजस्व उठाइएको छ।
- योग्यता प्रणाली (Meritocracy) को सुरुआत: पुराना राजनीतिक नियुक्तिहरू खारेज गरी रिक्त पदहरूमा खुला विज्ञापन र विज्ञहरूको छनौट समितिमार्फत मात्र नियुक्ति गर्ने प्रणाली सुरु गरिएको छ। यसअन्तर्गत राजदूत, राष्ट्रिय योजना आयोग र विश्वविद्यालयहरूमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अघि बढेको छ।
- नागरिकको घरदैलोमा सेवा: हुलाक कार्यालयमार्फत ७५ जिल्लाका नागरिकको घरदैलोमै नागरिकता र राहदानी पुर्याउने अभियान सुरु गरिएको छ। यस्तै कास्की र मोरङबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) घरमै पुर्याउने कार्यको थालनी भएको छ।
- डिजिटल शासन र फाइल ट्र्याकिङ: ‘शून्य फाइल सप्ताह कार्यविधि, २०८३’ लागू गरी तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई स्वचालित ‘अलर्ट’ जाने फाइल ट्र्याकिङ प्रणाली (GIOMS) विकास गरिएको छ।
- ‘हेलो सरकार’ को रूपान्तरण: संघ, प्रदेश र स्थानीय तहका ३,७७० कार्यालयहरूलाई एकीकृत ड्यासबोर्डमा आवद्ध गरिएको छ। यसका कारण गुनासो सम्बोधनमा ६ सय प्रतिशतले वृद्धि भई ६० प्रतिशतभन्दा बढी गुनासाहरू पूर्ण रूपमा फर्स्योट भइसकेका छन्।
- सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापन: पोखराको फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाउन सुरु गरिएको छ। काठमाडौँका नदी किनारका जोखिमयुक्त बस्तीहरू हटाई विस्थापितहरूलाई होल्डिङ सेन्टरमा बस्ने व्यवस्था र पुनर्स्थापना भत्ताको व्यवस्था गरिएको छ भने बर्दियाको बढैयातालमा भूमिहीनहरूलाई लालपुर्जा वितरण गरिएको छ।
सरकारको निष्कर्ष:
राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रमा इच्छाशक्ति भएमा छोटो समयमै ठूला र संरचनागत परिवर्तन सम्भव छ भन्ने दृष्टान्त बालेन शाह सरकारको पहिलो १०० दिनले देखाएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




