
काठमाडौं, २१ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको समग्र विकास, निजी क्षेत्रका समस्या समाधान र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै ‘इप्पान भिजन २०२९’ सार्वजनिक गरेको छ।
धुलिखेलमा असार १९ र २० गते सम्पन्न इप्पानको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले ऊर्जा क्षेत्रका नीतिगत, कानुनी तथा प्रक्रियागत अवरोधहरू हटाउने उद्देश्यसहित ५० बुँदे कार्ययोजना पारित गरेको हो।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा बसेको उक्त बैठकले विद्युत् उत्पादन, प्रसारण, लगानी, वित्तीय व्यवस्थापन तथा विद्युत् व्यापारलाई मुख्य प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाउने निर्णय गरेको छ।
कार्ययोजनाका मुख्य बुँदाहरू र प्राथमिकता:
- पीपीए र आयोजना व्यवस्थापन: अन्तर्राष्ट्रिय मापदण्डअनुसार पीपीए ड्राफ्ट तयार पार्ने, नेपाल विद्युत् प्राधिकरणमा रोकिइरहेका करिब १६ हजार मेगावाट क्षमताका आयोजनाहरूको प्रक्रिया तत्काल अघि बढाउन पहल गर्ने र पीपीए दर पुनरावलोकनका लागि सरकारसँग समन्वय गर्ने।
- वन तथा कानुनी सुधार: वन क्षेत्रभित्रका आयोजनाका लागि जग्गा उपलब्ध गराउने तथा रुख कटानको प्रक्रिया १ वर्षभित्र अनिवार्य रूपमा सम्पन्न हुने व्यवस्था गर्न ‘सनसेट ल’ (Sunset Law) ल्याउन पहल गर्ने।
- प्रसारण लाइन: निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माणको अनुमति दिनुपर्ने मागलाई कार्ययोजनामा समेटिएको छ।
- विद्युत् खपत र प्रविधि: आन्तरिक खपत बढाउन उद्योगहरूलाई सहुलियतपूर्ण दरमा विद्युत् उपलब्ध गराउने, विद्युतीय सवारीसाधन (EV) को चार्जिङ स्टेसन विस्तार गर्ने तथा हरित हाइड्रोजनको अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्ने।
- वित्तीय व्यवस्थापन: ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ९ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउन र समस्याग्रस्त जलविद्युत् आयोजनाका लागि विशेष पुनरुत्थान प्याकेज ल्याउन नेपाल राष्ट्र बैंकसँग समन्वय गर्ने।
विभिन्न समिति गठन र जिम्मेवारी बाँडफाँड
संस्थागत गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउन इप्पानले १६ वटा विषयगत समिति तथा उपसमितिहरू गठन गरेको छ। जसमध्ये मुख्य समिति र तिनका संयोजकहरू यस प्रकार छन्:
| समिति | संयोजक |
| नीति निर्माण तथा विद्युत् व्यापार समिति | उत्तम ब्लोन लामा |
| ऊर्जा मन्त्रालय समन्वय समिति | नरेन्द्र बल्लभ पन्त |
| बैंक तथा वित्तीय संस्था समन्वय समिति | सुमनकुमारी जोशी |
यसैगरी, इप्पानको मुख्य सल्लाहकारमा गणेश कार्की र विज्ञ सल्लाहकार समूहको प्रमुखमा पूर्वसचिव दिनेश कुमार घिमिरेलाई चयन गरिएको छ।
आगामी माघमा ‘हिमालय हाइड्रो एक्स्पो’ हुने
बैठकले इप्पानको प्रमुख र बहुप्रतीक्षित कार्यक्रम ‘हिमालय हाइड्रो एक्स्पो’ को पाँचौँ संस्करण आयोजना गर्ने मिति समेत तय गरेको छ। एक्स्पो आगामी २०८३ साल माघ २, ३ र ४ गते (सन् २०२७ जनवरी १६ देखि १८ सम्म) काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने इप्पानले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




