
काठमाडौं, २१ असार । नेपालको बैंकिङ प्रणालीमा निक्षेप संकलनले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संकलन ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । यो नेपाली बैंकिङ इतिहासकै अहिलेसम्मकै उच्च निक्षेप हो ।
कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको मात्रै हिस्सा ७३ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा ७ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
कर्जा प्रवाह सुस्त, सीडी रेसियो ७२.४५ प्रतिशतमा सीमित
बैंकिङ प्रणालीमा निक्षेपको ओइरो लागे पनि कर्जाको माग र प्रवाह भने निकै सुस्त देखिएको छ । राष्ट्र बैंकका अनुसार हालसम्म कुल कर्जा प्रवाह ५९ खर्ब ३० अर्ब रुपैयाँ मात्र पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूले ५२ खर्ब ७५ अर्ब र अन्य वित्तीय संस्थाहरूले ६ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नियम अनुसार बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । तर, कर्जाको माग नहुँदा हाल कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) झरेर ७२.४५ प्रतिशतमा सीमित भएको छ । यस आधारमा अहिले बैंकिङ प्रणालीमा करिब साढे १३ खर्ब रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिएर बसेको छ ।
११ खर्ब ३७ अर्ब केन्द्रीय बैंकमै थुप्रियो
लगानीका क्षेत्रहरू सुस्ताएपछि बैंकहरूले आफ्नो ठूलो हिस्सा नेपाल राष्ट्र बैंकमा राख्न बाध्य भएका छन् । वित्तीय प्रणालीको ११ खर्ब ३७ अर्ब रुपैयाँ केन्द्रीय बैंकमै थुप्रिएको छ । राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी बजारबाट यो रकम खिचेको हो:
- निक्षेप संकलन उपकरण: ६ खर्ब ६९ अर्ब ३५ करोड रुपैयाँ
- एक वर्षे ऋणपत्र (१२ वटा): ३ खर्ब ५ अर्ब रुपैयाँ
- स्थायी निक्षेप सुविधा (SDF): १ खर्ब ६२ अर्ब ६५ करोड रुपैयाँ
ब्याजदर करिडोर व्यवस्थापनमा दबाब
अधिक तरलताका कारण राष्ट्र बैंकलाई ब्याजदर करिडोर कायम राख्न समेत हम्मे-हम्मे परेको छ । हाल अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ ।
नीतिगत व्यवस्था अनुसार अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतभन्दा तल झरेमा राष्ट्र बैंकले अनिवार्य रूपमा बजारबाट पैसा तान्नुपर्ने हुन्छ भने ६ प्रतिशतभन्दा माथि पुगेमा पैसा बजारमा पठाउनुपर्ने हुन्छ । सोही व्यवस्था बमोजिम ब्याजदरलाई २.७५ प्रतिशतभन्दा तल झर्न नदिन केन्द्रीय बैंकले निरन्तर बजारबाट पैसा खिचिरहेको छ ।
अर्थतन्त्रमा निजी क्षेत्रको आत्मविश्वास कमजोर हुँदा बैंकहरूमा पैसा थुप्रिने तर बजारमा लगानी नहुने अवस्था सिर्जना भएको जानकारहरू बताउँछन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




