रियल स्टेटमा बलियो ‘यु-टर्न’: १ खर्ब ८४ अर्बको काराेबार, काठमाडौंमा मात्रै २२३% को उछाल

-



     सफल आवाज    
     असार २३ गते २०८३ मा प्रकाशित



काठमाडौं, २३ असार। लामो समयदेखि शिथिल बनेको नेपालको घरजग्गा (रियल स्टेट) बजारले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा बलियो ‘यु-टर्न’ लिएको छ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार यो अवधिमा देशभरको घरजग्गा कारोबारमा निकै ठूलो सुधार देखिएको हो।

केन्द्रीय बैंकको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार चालु आवको तेस्रो त्रयमाससम्म देशभर कुल १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको (१०० अर्ब ७ करोड रुपैयाँ) तुलनामा निकै उच्च हो।

खासगरी, राजधानी काठमाडौँमा मात्रै घरजग्गा कारोबारको कुल मूल्यमा २२३.१२ प्रतिशतको अप्रत्याशित उछाल आएसँगै सिङ्गो रियल स्टेट क्षेत्रमा उत्साह फर्किएको संकेत मिलेको छ।

कारोबार संख्या र क्षेत्रफल दुवैमा सुधार

विगतमा शिथिल रहेको यो क्षेत्रमा अहिले राष्ट्रियस्तरमै सकारात्मक चहलपहल देखिएको छ:

  • कुल कारोबार संख्या: अघिल्लो वर्ष ४.५२ प्रतिशतले ऋणात्मक रहेको राष्ट्रियस्तरको कुल कारोबार संख्या यसपालि ६.४२ प्रतिशतले वृद्धि भएको छ।
  • राजीनामा कारोबार: देशैभर लिखतपारित अन्तर्गतको राजीनामा कारोबार संख्या १२.१७ प्रतिशतले बढेको छ।
  • कारोबार क्षेत्रफल: कारोबार भएको कुल क्षेत्रफलमा पनि १.६० प्रतिशतको वृद्धि देखिएको छ।

राजस्व र पुँजीगत लाभकरमा भारी वृद्धि

घरजग्गा क्षेत्रमा आएको यो अकल्पनीय चमकका कारण सरकारी कोषमा समेत ठूलो योगदान पुगेको छ। प्रतिवेदनअनुसार सरकारको राजस्व संकलनमा २३.७२ प्रतिशत र पुँजीगत लाभकरमा ३१.४२ प्रतिशतको भारी वृद्धि देखिएको छ।

बैंक कर्जा भने सुस्त: बजारमा नगद प्रवाह (लिक्विडिटी) बढे पनि बैंकहरूबाट यस क्षेत्रमा जाने कर्जाको वृद्धिदर भने अघिल्लो वर्षको ७.५२ प्रतिशतबाट केही सुस्त भएर ५.५५ प्रतिशतमा सीमित भएको छ। यसले बजारमा आफ्नै स्रोत वा अन्य अनौपचारिक माध्यमको नगद परिचालन बढेको संकेत गर्छ।

बागमती प्रदेश र काठमाडौँ मुख्य केन्द्र, साना प्लटमा आकर्षण

प्रादेशिक तथा क्षेत्रगत आधारमा हेर्दा बागमती प्रदेश र विशेष गरी महानगरपालिकाहरू घरजग्गाको मुख्य आकर्षण केन्द्र बनेका छन्।

  • बागमती प्रदेश: राजीनामा कारोबार संख्या ३३.०१ प्रतिशतले बढ्दा कुल कारोबार मूल्य १३१.५२ प्रतिशतले उकालो लागेको छ।
  • मधेश प्रदेश: मधेशमा कारोबार संख्या (४.७९ प्रतिशत) र क्षेत्रफल (९.३३ प्रतिशत) घट्दा पनि कुल मूल्य भने २२.६७ प्रतिशतले बढेको छ।

कित्ताकाट र प्लटिङको ट्रेन्ड हेर्दा सातवटै प्रदेशमा उपभोक्ताहरूले २.५ देखि १० आना क्षेत्रफलका साना प्लटहरू नै सबैभन्दा बढी रुचाएको प्रतिवेदनले देखाएको छ।

महानगर र उप-महानगरपालिकाको अवस्था

काठमाडौँ महानगरपालिकाबाहेक अन्य ५ वटै महानगरमा पनि कारोबारको ग्राफ उकालो लागेको छ।

महानगरपालिकाहरूमा कारोबार संख्याको वृद्धि:

महानगरपालिकाकारोबार संख्या वृद्धि (प्रतिशतमा)
पोखरा महानगरपालिका८२.१५%
ललितपुर महानगरपालिका७३.८१%
वीरगन्ज महानगरपालिका३१.०७%
भरतपुर महानगरपालिका२९.२१%
विराटनगर महानगरपालिका२७.९२%

त्यस्तै, उप–महानगरपालिकाहरूको हकमा कलैयाबाहेक अन्य सबै क्षेत्र चलायमान भएका छन्। जसमध्ये बुटवलमा सबैभन्दा धेरै ५६.७९ प्रतिशतले कारोबार संख्या बढेको छ भने कारोबार मूल्यका आधारमा तुलसीपुर उप–महानगरपालिका १३४.४६ प्रतिशतको वृद्धिसहित सबैभन्दा अगाडि देखिएको छ। फाेटाे -एआइबाट बनाइएकाे हाे ।