नेपाल र एडीबीबिच २२ अर्बको सहुलीयतपूर्ण ऋण सम्झौता

-



     सफल आवाज    
     असार २३ गते २०८३ मा प्रकाशित



काठमाडौं, २३ असार। नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बिच २२ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच दुई छुट्टाछुट्टै आयोजनाका लागि उक्त ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

एडीबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणको अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अध्यक्ष कान्डाको उपस्थितिमा सो सम्झौता भएको अर्थमन्त्रालयले जनाएको छ। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन्।

कुन आयोजनामा कति लगानी?

सम्झौता अनुसार प्राप्त हुने कुल रकमलाई दुई मुख्य क्षेत्रमा खर्च गरिनेछ:

  • एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना (११ करोड ५० लाख अमेरिकी डलर): यो रकम मुख्यतया साना तथा मझौला सहरहरूको खानेपानी पूर्वाधार निर्माण र ढल व्यवस्थापनमा केन्द्रित हुनेछ। यस आयोजनाबाट नेपालका १३ जिल्लाका करिब ८ लाख ५० हजार जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ।
  • दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति संयन्त्र सुधार कार्यक्रम (५ करोड अमेरिकी डलर): यो रकम नेपालको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न, व्यापार सहजीकरण गर्न र आपूर्ति श्रृङ्खलाको क्षमता अभिवृद्धि गर्न उपयोग गरिनेछ।

व्यापार सहजीकरण र रोजगारीमा टेवा

सरकारले यो ऋण सहयोगबाट विशेष गरी भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ। जोखिममा आधारित जाँचपास र सरल प्रक्रियामार्फत व्यापार लागत घटाउने तथा सीमापार व्यापारलाई थप व्यवस्थित र अनुमानयोग्य बनाउन यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यसबाट स्वदेशमा रोजगारी सिर्जना हुने र क्षेत्रीय मूल्य श्रृङ्खलामा नेपालको पहुँच बढ्ने विश्वास लिइएको छ।

६ दशक लामो सहकार्यको निरन्तरता

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यो साझेदारी अझ बलियो हुने विश्वास व्यक्त गरे। त्यस्तै, एडीबीका अध्यक्ष मासातो कान्डाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तरता दिँदै नेपालका विद्यमान आन्तरिक चुनौतीहरूको सामना गर्न र विकासका प्राथमिकताहरूमा सहयोग गर्न एडीबी सधैं तयार रहेको प्रतिबद्धता जनाए।