
काठमाडौं, २४ असार। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् कम्पनीहरूको सेयर निष्काशनमा भइरहेको ढिलाइप्रति गम्भीर आपत्ति जनाएको छ ।
आइपीओ र हकप्रद सेयर स्वीकृति प्रक्रिया रोकिँदा निर्माणाधीन आयोजनाहरू गम्भीर वित्तीय संकटमा परेको भन्दै इप्पानले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष विस्तृत सुझावसहितको मागपत्र बुझाएको छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सेबोनका अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा २०८० सालदेखि जलविद्युत् कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) तथा हकप्रद सेयर स्वीकृतिमा देखिएको ढिलाइले ऊर्जा क्षेत्र मात्र नभई समग्र पुँजी बजारमै नकारात्मक असर परेको उल्लेख गरिएको छ ।
३६ भन्दा बढी कम्पनीको आइपीओ रोकियो, प्रवर्द्धकहरू संकटमा
इप्पानका अनुसार २०८० साल जेठयता एकाध कम्पनीबाहेक अधिकांश जलविद्युत् कम्पनीले आइपीओ निष्काशनको स्वीकृति पाएका छैनन् । हाल करिब तीन दर्जनभन्दा बढी कम्पनीको आइपीओ र एक दर्जन कम्पनीको हकप्रद सेयर स्वीकृतिको प्रक्रिया सेबोनमा रोकिएको छ ।
सरकारको नियमानुसार स्थानीय बासिन्दालाई अनिवार्य रूपमा सेयर वितरण गर्नुपर्ने र आयोजना निर्माणको ५० प्रतिशत प्रगति भएपछि आइपीओ आवेदन दिन मिल्ने कानुनी प्रावधान छ । सोही आधारमा अधिकांश प्रवर्द्धकले वित्तीय व्यवस्थापन गर्दा आइपीओबाट आउने रकमलाई समेत समावेश गरी बैंक ऋण लिएका थिए ।
तर, समयमै आइपीओ आउन नसक्दा निर्माणाधीन करिब ४,००० मेगावाट क्षमताका आयोजनाका प्रवर्द्धकहरू बैंक ऋण तिर्न नसक्ने अवस्थामा पुगेको इप्पानको भनाइ छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले ऋण भुक्तानीका लागि ताकेता गर्न थालेपछि आयोजनाहरू थप दबाबमा परेका छन् ।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको १४ खर्ब ५० अर्बको लगानी
देशको कुल विद्युत् उत्पादन क्षमता करिब ४,३०० मेगावाट पुगेकोमा त्यसको ठूलो हिस्सा अर्थात् करिब ३,५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरिरहेको इप्पानले जनाएको छ ।
यसबाहेक, निजी क्षेत्रकै नेतृत्वमा करिब ५,८०० मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन छन् भने २० हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरू विभिन्न चरणमा रहेका छन् । ऊर्जा क्षेत्रमा निजी क्षेत्रले हालसम्म करिब १४ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । सरकारले अघि सारेको ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य निजी क्षेत्रले पूरा गर्न सक्ने भए पनि त्यसका लागि नियामकीय सहजीकरण आवश्यक रहेको इप्पानको ठहर छ ।
तत्काल कार्यान्वयनका लागि इप्पानका ३ माग
इप्पानले सेबोनसँग तत्काल कार्यान्वयन गर्नुपर्ने तीनवटा मुख्य विषयहरू अघि सारेको छ:
- समझदारी कार्यान्वयन: २०८० भदौ २४ गते सेबोन र इप्पानबीच भएको समझदारी तत्काल कार्यान्वयन गरियोस् ।
- अवरुद्ध सेयर स्वीकृति: सेबोनमा आवेदन दिएका सबै जलविद्युत् कम्पनीको आइपीओ तथा हकप्रद सेयर यथाशीघ्र स्वीकृत गरियोस् ।
- अभौतिकीकरणको समस्या समाधान: कानुनी आधारबिना संस्थापक र सर्वसाधारणका लागि छुट्टाछुट्टै आईएसआईएन (ISIN) नम्बर दिने भन्दै सीडीएससीले रोकेको संस्थापक सेयर अभौतिकीकरण (Demat) को विषय तत्काल समाधान गरियोस् ।
दीर्घकालीन सुधारका लागि ८ बुँदे नीतिगत प्रस्ताव
इप्पानले जलविद्युत् र पुँजी बजारको दीर्घकालीन सुधारका लागि आठ बुँदे प्रस्ताव समेत पेश गरेको छ । जसअनुसार: १. सेबोनमा आवश्यक कागजात पुगेको एक महिनाभित्र आइपीओ स्वीकृतिको निर्णय हुनुपर्ने । २. धितोपत्र बोर्ड, विद्युत् नियमन आयोग, रेटिङ एजेन्सी र बिक्री प्रबन्धकबीचको प्रक्रियालाई एकद्वार प्रणालीमार्फत समन्वय गरिनुपर्ने । ३. विभिन्न नियामक निकायमा दोहोरिने प्रशासनिक प्रक्रियाहरू हटाइनुपर्ने ।
४. कानुनी तथा बिक्री व्यवस्थापन शुल्क घटाइनुपर्ने । ५. अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रवर्द्धकहरूको लकिङ अवधि अधिकतम १८ महिनामा सीमित गरिनुपर्ने । ६. कम्तीमा १० वर्षे ‘हाइड्रो क्यापिटल मार्केट नीति’ ल्याउनुका साथै आयोजनाको क्षमताअनुसार ‘टियर सिस्टम’ लागू गरिनुपर्ने । ७. स्थानीय बासिन्दालाई वितरण गरिएको सेयरलाई सर्वसाधारण समूहअन्तर्गत गणना गर्ने व्यवस्था गरिनुपर्ने र ५० मेगावाटभन्दा साना आयोजनाका हकमा स्थानीयलाई वितरण गरिएको सेयरलाई नै अन्तिम सर्वसाधारण सेयर मानिनुपर्ने । ८. सञ्चालकको रोक्का रहेको सेयर धितो राखेर ऋण लिन पाउने कानुनी व्यवस्था गरिनुपर्ने ।
इप्पानको निष्कर्ष: “जलविद्युत् कम्पनीहरूको आइपीओ स्वीकृतिमा भइरहेको ढिलाइले ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापनमा मात्र होइन, नेपालको पुँजी बजारको समग्र विकासमै प्रत्यक्ष धक्का लागेको छ । ऊर्जा क्षेत्रमा लगानीको वातावरण जोगाउन र निर्माणाधीन आयोजनाहरूलाई टाट पल्टिनबाट बचाउन सेबोनले तत्काल ठोस निर्णय लिनु आवश्यक छ ।”








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




