
काठमाडौं, २५ असार। प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन् ।
बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा निरन्तर विरोध भइरहेकाले विपक्षी दलका तर्फबाट एक जना सदस्यलाई सङ्क्षिप्त धारणा राख्न समय दिनुभएको थियो ।
नेपाली कांग्रेसकी हरिनादेवी कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ…’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभयो।
त्यसपछि अन्य विपक्षी दलका सांसदहरूले पनि बोल्न समय माग गरेपछि सभामुख अर्यालले सबै विपक्षी दललाई बोल्न समय दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) की यशुदाकुमारी बरालले विपक्षीले पटक–पटक उठाउँदै आएको विषयमा सरकारले सुनुवाइ नगरेको भन्दै ध्यानाकर्षण गराउनुभयो। सोही पार्टीका भीमकुमार बुढामगरले नेपाली जनता आफ्नो भूमिको रक्षाका लागि प्रतिबद्ध रहेका बेला प्रधानमन्त्रीले राष्ट्रियतासँग जोडिएको आफ्नो अभिव्यक्ति सच्च्याउनुपर्ने माग गर्नुभयो।
यसैगरी, श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले सो विषयमा सत्ता पक्षको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभयो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




