महानगर प्रहरीको जरिवानापछि आत्मदाह गरेका गणेश नेपालीको निधन, आफन्तद्वारा शव बुझ्न अस्वीकार

-



     सफल आवाज    
     असार २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ असार । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।

जलनबाट गम्भीर घाइते भई भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:२० बजे निधन भएको अस्पतालले जनाएको छ।

गणेशको मृत्यु भएपछि उनका आफन्तहरूले सरकारले उनीमाथि अन्याय गरेको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलनको तयारी सुरु गरेका छन्।

१० हजार रुपैयाँ जरिवानाको चिट काटेपछि आत्मदाह

मृतकका आफन्त चन्द्रबहादुर शाहीका अनुसार गणेश ३–४ वर्षअघि काठमाडौं आएका थिए। उनले किस्तामा मोटरसाइकल खरिद गरी राइड सेयरिङ (पठाओ, इनड्राइभ आदि) मार्फत जीविकोपार्जन गर्दै आएका थिए।

बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनलाई १० हजार रुपैयाँ जरिवानाको चिट काटेको शाहीले बताए। जरिवानाको सो ठूलो रकम र कानुनी झमेलाका कारण विरक्तिएर उनले आत्मदाहको बाटो रोजेको र यस घटनाको मुख्य जिम्मेवार नगर प्रहरी नै हुनुपर्ने आफन्तहरूको माग छ।