साताको अन्तिम दिन नेप्सेमा सामान्य गिरावट, ऋणपत्रको आकर्षणले कारोबार रकम करीब ७ अर्ब

-



     सफल आवाज    
     असार २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबारकै लयलाई निरन्तरता दिँदै यस दिन पनि बजार घटेको हो।

शुक्रबार नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ विन्दुमा झरेको छ। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ०.५८ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्।

कारोबार रकममा ठूलो सुधार

नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि यस दिन कारोबार रकम भने उल्लेख्य बढेको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको मात्र सेयर खरिदबिक्री भएकोमा शुक्रबार ३६७ वटा स्क्रिप (स्टक) को ५३ हजार ४३२ पटकको कारोबारमा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँ बराबरको धितोपत्र खरिदबिक्री भएको छ। यस दिन बजारमा ऋणपत्र (डिबेञ्चर) को कारोबारमा भारी वृद्धि भएसँगै कुल कारोबार रकम बढ्न पुगेको हो।

ऋणपत्रकै बोलवाला, नेपाल बैंकको सर्वाधिक कारोबार

रकमका आधारमा सर्वाधिक कारोबार भएका शीर्ष १० स्टकहरूको सूचीमा यस दिन ९ वटा ऋणपत्र पर्न सफल भएका छन्। जसमध्ये सबैभन्दा बढी ‘८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७’ को करिब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, ‘८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३’ को करिब ७० करोड रुपैयाँ र ‘८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७’ को साढे २८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

नाफा र घाटा कमाउने कम्पनीहरू

यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १०.६६ प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी इक्विटी फण्डको इकाईमूल्य ९ प्रतिशत र कालंगा हाइड्रोको सेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ। यता कारोबारमा आएको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य भने सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ।

उपसमूहगत अवस्था

कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले बढेको छ भने लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ।