महिलाका लागि ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना

-



     सफल आवाज    
     असार २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ असार। महिला नेतृत्व र स्वामित्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (MSMEs) हरूको वित्तीय पहुँच सरल बनाउने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेड (SBL) ले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सार्वजनिक गरेको छ।

धितो अभावका कारण व्यवसाय विस्तार गर्न नपाएका महिला उद्यमीहरूलाई लक्षित गरी बैंकले यो विशेष योजना ल्याएको हो।यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीहरूले आफ्नो व्यवसायको आवश्यकताअनुसार तीनवटा मोडलमा ऋण प्राप्त गर्न सक्नेछन्:

  • बिना धितो कर्जा: उद्यमको प्रकृतिका आधारमा अधिकतम १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा उपलब्ध हुनेछ।
  • आंशिक धितो कर्जा: आंशिक धितो सुरक्षण राखेर २५ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ।
  • पूर्ण धितो कर्जा: पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा प्राप्त हुनेछ।

धितोभन्दा व्यवसायको क्षमतालाई प्राथमिकता

यस कर्जा प्रक्रियालाई प्रविधिमैत्री र पारदर्शी बनाउन सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) को प्राविधिक सहयोगमा एक विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ।

परम्परागत बैंकिङ्ग प्रणाली जस्तो धितोलाई मात्र मुख्य आधार नबनाई यस प्रणालीले व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह (Cash Flow) र उद्यमीको वास्तविक क्षमताको समग्र विश्लेषण गर्ने बैंकले जनाएको छ।

यो नवीन व्यवस्थाले धितो नभएकै कारण बैंकबाट ऋण पाउन नसक्ने महिला उद्यमीहरूको बाध्यतालाई अन्त्य गर्ने र व्यवसायको सम्भावनालाई प्राथमिकता दिँदै उद्यमशीलता विकासमा कोशेढुङ्गा सावित हुने विश्वास बैंकले लिएको छ।