सेयर लगानीकर्ता आज आन्दोलनमा, धितोपत्र बोर्ड र ब्रोकर कार्यालय घेराउ गर्दै

-



     सफल आवाज    
     असार ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० असार। नेपालको पूँजी बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्ताको सम्पत्तिमा आएको ह्रासप्रति आक्रोसित सेयर लगानीकर्ताहरू आज आन्दोलनमा उत्रने भएका छन्। बजार सुधारका लागि सरकार तथा सरोकारवाला निकायले प्रभावकारी कदम नचालेको भन्दै लगानीकर्ताहरूले सडक संघर्षको बाटो रोजेका हुन्।

सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा हुने यस आन्दोलनअन्तर्गत आज नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय, नेपाल स्टक ब्रोकर एसोसिएसनको कार्यालयका साथै देशभरका ब्रोकर कार्यालयहरूमा विरोध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

अभियन्ता कोइरालाले सामाजिक सञ्जालमार्फत सम्पूर्ण सेयर लगानीकर्ताहरूलाई बिहान ९ बजे सेबोनको कार्यालयमा उपस्थित हुन आह्वान गरेका छन्। सेबोन कार्यालयमा दबाबमूलक विरोध प्रदर्शन गरेपछि आन्दोलनकारीहरू ब्रोकर एसोसिएसनको कार्यालय र विभिन्न ब्रोकर कम्पनीका कार्यालयतर्फ अघि बढ्ने कार्यक्रम रहेको उनले बताएका छन्।

पूँजी बजार सुधारका लागि सरकार, अर्थ मन्त्रालय तथा नियामक निकायले प्रभावकारी नीतिगत निर्णय नगरेको लगानीकर्ताहरूको आरोप छ। बजारमा देखिएको निरन्तर गिरावट रोक्न, लगानीकर्ताको खस्किएको विश्वास पुनःस्थापित गर्न तथा पूँजी बजारमैत्री नीति अवलम्बन गराउन दबाब दिने उद्देश्यले यो आन्दोलन सुरु गरिएको बुझिएको छ।

यसअघि आन्दोलनको घोषणा गर्दै अभियन्ता कोइरालाले लगानीकर्ताका मागप्रति सम्बन्धित निकायले बेवास्ता गरे धितोपत्र बोर्ड र ब्रोकर कार्यालयहरूमा तालाबन्दी मुद्दासम्म पुग्न सक्ने चेतावनी दिएका थिए।

पछिल्ला केही सातायता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार ओरालो लाग्दै आएको छ। बजार पूँजीकरणमा ठूलो गिरावट आएपछि विशेष गरी साना तथा मध्यम लगानीकर्ताहरू मारमा परेका छन्। चौतर्फी निराशा बढेपछि विभिन्न लगानीकर्ता समूहहरूले बजार सुधारका लागि तत्काल ठोस पहल गर्न सरकारसँग माग गर्दै आएका छन्।