
काठमाडौं, ३० असार । नेपाल शेयरधनी संघले शेयर बजारमा आएको निरन्तर गिरावटप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकार र नियामक निकायलाई तत्काल सुधारका कदम चाल्न माग गरेको छ।
नयाँ सरकार गठन पश्चात पनि बजार ओरालो लाग्ने क्रम नरोकिएको र यसले लगानीकर्ताहरूलाई ठूलो आर्थिक जोखिममा पारेको संघले उल्लेख गरेको छ।
६ खर्बभन्दा बढी पुँजी सखाप
संघका अनुसार नयाँ सरकार गठन हुँदा करिब २९५० को हाराहारीमा रहेको नेप्से परिसूचक अहिले घटेर २५७० को आसपासमा खुम्चिएको छ। यस छोटो अवधिमा नै आम लगानीकर्ताले ६ खर्ब रुपैयाँभन्दा बढी पुँजी गुमाइसकेका छन्। यो गुमेको रकम देशको कुल वार्षिक बजेटको २७ प्रतिशतभन्दा बढी हुन आउने दाबी संघले आफ्नो विज्ञप्तिमा गरेको छ।
दोस्रो बजारमा लगानीकर्ताहरू चरम निराशामा रहेको अवस्थालाई मध्यनजर गर्दै संघले अर्थमन्त्रीलाई तत्काल बजारका सरोकारवालाहरूसँग छलफल गरी कार्ययोजना बनाउन र समाधानका उपायहरू खोज्न हार्दिक अनुरोध गरेको छ। नीतिगत सुधारहरू तत्काल गरेर मात्रै लगानीकर्ताको विश्वास कायम राख्न सकिने संघको जोड छ।
संघका मुख्य मागहरू
साउन १ गतेदेखि नयाँ करका दरहरू लागू हुने तयारी भइरहँदा बजार जोगाउने उपकरणहरू पनि सोही दिनदेखि लागू हुनुपर्ने माग संघले अघि सारेको छ। यसका साथै संघले देहायका मागहरूमा जोड दिएको छ:
- संस्थागत लगानीकर्तालाई सहज रूपमा दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाइनुपर्ने।
- गैर–आवासीय नेपाली (NRN) नागरिकहरूलाई दोस्रो बजारमा भित्र्याउने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने।
नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले भने: “नेपालको पुँजी बजारमा नेपाली लगानीकर्ताहरूको भरोसा टुट्न नदिन अर्थमन्त्री, धितोपत्र बोर्ड र नियामक निकायले तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्छ।’’
आन्दोलनको चेतावनी र बोर्डमा दबाब
सरकार र नियामक निकायले यी समस्याहरूलाई तत्काल सम्बोधन नगरे लगानीकर्ताको धैर्यताको बाँध टुट्ने र आफूहरू सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत संघले दिएको छ।
यसैबीच, शेयर बजार सुधारको कामलाई द्रुतता दिनुपर्ने भन्दै दबाब दिन लगानीकर्ताहरूको अर्को समूह पनि नेपाल धितोपत्र बोर्ड (SEBON) पुगेको छ। चौतर्फी गिरावट र दबाबका बीच नियामक निकायले चाल्ने आगामी कदमलाई लगानीकर्ताहरूले चासोका साथ हेरिरहेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




