राष्ट्र बैंकले १ खर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, आजै बोलकबोल

-



     सफल आवाज    
     असार ३१ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले आज (२०८३ असार ३१ गते) १ खर्ब रुपैयाँ (१०० अर्ब) बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ। बैंकले ९१ दिनको अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागेको हो।

यस सम्बन्धी बोलकबोल आजै दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ।

मुख्य विशेषता तथा सर्तहरू:

  • उपकरणको नाम र अवधि: निक्षेप संकलन (अवधि: ९१ दिन)।
  • आह्वान रकम: रु. १०० अर्ब (एक सय अर्ब रुपैयाँ)।
  • निष्कासन र भुक्तानी मिति: २०८३ असार ३१ गते निष्कासन भई आगामी २०८३ असोज २८ गते साँवा तथा ब्याज भुक्तानी हुनेछ।
  • ब्याजदर: बोलकबोलको माध्यमबाट बहु-ब्याजदर (Multiple Rate) मा निर्धारण हुनेछ।
  • सहभागी हुन पाउने: नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र।
  • बोल गर्न सकिने रकम: घटीमा रु. १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म।
  • धितो सम्बन्धी व्यवस्था: यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने।

बाँडफाँड र नियमन प्रक्रिया:

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर उल्लेख गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखिनेछ। यदि समान ब्याजदर भएका बोल रकमहरू समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रो-राटा बेसिस (Pro-rata Basis) मा बाँडफाँड गरिने सूचनामा उल्लेख छ।

सफल बोलपत्रदाताहरूको रकम राष्ट्र बैंकले सम्बन्धित काउन्टरपार्टीको खाता खर्च गरी लिनेछ र यसरी संकलित निक्षेपको छुट्टै खाता खोलिनेछ। निष्कासनका दिन खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थाहरूलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलहरूमा सहभागी हुन बन्देज लगाइनेछ।

अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नपाइने:

राष्ट्र बैंकका अनुसार यो रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो (Portfolio) हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन।

यद्यपि, बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात (SLR) तथा तरलता अनुपात (Liquidity Ratio) मा भने यसलाई गणना गर्न पाइने सुविधा दिइएको छ। संकलित निक्षेप रकम भुक्तानी मिति अगावै (Pre-mature) फिर्ता भुक्तानी हुनेछैन।