३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

- डिम्याट खाता संख्या ७७ लाख नाघ्यो

-



     सफल आवाज    
     असार ३१ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३१ असार । नेपालको पुँजीबजारमा लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको पाइएको छ।

नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको ‘नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३’ अनुसार धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार गर्नका लागि प्रयोग हुने टिएमएस (TMS) खाता खोल्ने लगानीकर्ताको सङ्ख्या ३४ लाख ६६ हजार चार सय ९९ पुगेको छ।

आर्थिक वर्ष २०७७/७८ मा यस्तो खाता खोल्नेको सङ्ख्या करिब ३५ हजार मात्रै रहेकोमा विगत पाँच वर्षको अवधिमा यसमा उल्लेखनीय वृद्धि भएको प्रतिवेदनले देखाएको छ।

कूल जनसङ्ख्याको २६ प्रतिशतको डिम्याट खाता

मार्गचित्र अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ। यो सङ्ख्या नेपालको कूल जनसङ्ख्याको २६ प्रतिशतभन्दा बढी हो। आव २०७७/७८ सम्म नेपालमा करिब १७ लाखको हाराहारीमा मात्रै डिम्याट खाता खोलिएको थियो।

यस्तै, डिजिटल प्रविधिमार्फत शेयर आवेदन र व्यवस्थापन गर्न प्रयोग गरिने ‘मेरो शेयर’ खाता खोल्ने लगानीकर्ताको सङ्ख्या पनि ह्वात्तै बढेर ६७ लाख ३७ हजार दुई सय ५४ पुगेको छ। आव २०७७/७८ सम्म मेरो शेयर खाताको सङ्ख्या सात लाख मात्र रहेकोमा हाल यो कूल जनसङ्ख्याको २३ प्रतिशत बराबर हुन आउँछ।

प्रदेशगत अवस्था: बाग्मती शीर्ष स्थानमा, कर्णाली सबैभन्दा पछाडि

डिम्याट खाता खोल्ने लगानीकर्ताहरूको प्रादेशिक वितरणमा ठूलो असमानता देखिएको छ। प्रतिवेदन अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३४ दशमलव १३ प्रतिशत डिम्याट खाता खोलिएका छन्।

अन्य प्रदेशहरूको अवस्था यस प्रकार छ:

  • कोशी प्रदेश: १८ दशमलव ९३ प्रतिशत
  • मधेस प्रदेश: १२ दशमलव ६८ प्रतिशत
  • गण्डकी प्रदेश: १२ दशमलव ४६ प्रतिशत
  • लुम्बिनी प्रदेश: १२ दशमलव १४ प्रतिशत
  • सुदूरपश्चिम प्रदेश: छ दशमलव ६७ प्रतिशत
  • कर्णाली प्रदेश: दुई दशमलव ९८ प्रतिशत (सबैभन्दा कम)

बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब, जिडिपीको ७० प्रतिशत हिस्सा

पछिल्लो तीन दशकमा नेपाली पुँजीबजारले उल्लेखनीय विस्तार गरेको मार्गचित्रमा उल्लेख छ। सन् २०२६ सम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको सङ्ख्या दुई सय ९७ पुगेको छ।

यस्तै, कुल बजार पुँजीकरण करिब रु ४६ खर्ब ५६ अर्ब पुगेको छ, जुन देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ७० दशमलव ५२ प्रतिशत बराबर हो।

चालु आवमा राजस्व सङ्कलनमा गिरावट

पुँजीबजारको विस्तारसँगै सरकारलाई प्राप्त हुने राजस्वमा पनि विगतका वर्षहरूमा ठूलो योगदान पुगेको छ। आव २०७७/७८ मा सरकारले पुँजीबजारबाट पुँजीगत लाभकरबापत रु १५ अर्ब ५४ करोड राजस्व प्राप्त गरेको थियो।

तर, चालु आर्थिक वर्षमा शेयर बजारमा आएको शिथिलता (ओरालो लागेकाले) का कारण अपेक्षाकृत राजस्व उठ्न सकेको छैन। चालु आवको जेठ मसान्तसम्मको अवधिमा सरकारले पुँजीगत लाभकरबापत रु १० अर्ब ७० करोड मात्रै राजस्व सङ्कलन गरेको प्रतिवेदनमा जनाइएको छ। फोटो-एआइबाट बनाईएको हो ।