शेयर धितो कर्जामा राष्ट्र बैंकको नयाँ नीति: सबल कम्पनीको शेयरमा १० प्रतिशत बढी कर्जा पाइने

-



     सफल आवाज    
     असार ३२ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३२ असार। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा (मार्जिन लेन्डिङ) सम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिमार्जन गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै केन्द्रीय बैंकले सूचीकृत कम्पनीहरूको सबलता मूल्यांकनका आधारमा कर्जा सीमामा थप लचकता अपनाउने नीति लिएको हो।

नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जा प्रवाह गर्दा सम्बन्धित सूचीकृत संस्थाको वित्तीय र व्यवस्थापकीय सबलता मूल्यांकन गर्न अनिवार्य रूपमा ‘प्रोडक्ट पेपर’ तयार पार्नुपर्नेछ। उक्त मूल्यांकनमा उत्कृष्ट ठहरिएका कम्पनीहरूको शेयरमा साविकको कर्जा सीमामा थप १० प्रतिशत विन्दुसम्म ऋण थप गर्न सकिने सुविधा प्रदान गरिएको छ।

यस व्यवस्थाले धितोपत्र बजारमा राम्रो वित्तीय सूचक भएका कम्पनीहरूको शेयरमा लगानीकर्ताले थप कर्जा सुविधा पाउने बाटो खुलेको छ।

कम्पनीको सबलता मूल्यांकन गर्ने ६ आधारहरू

बैंकहरूले कुनै पनि कम्पनी कत्तिको सबल छ भनी जाँच्नका लागि अनिवार्य रूपमा देहायका ६ वटा सूचकहरू समावेश गरी मूल्यांकन विधि (Criteria) बनाउनुपर्ने निर्देशनमा उल्लेख छ:

  1. चुक्ता पुँजीको आकार
  2. धितोपत्र बजारमा सूचीकरण भएको न्यूनतम अवधि
  3. संस्था नाफामा रहेको र लाभांश वितरण गरेको इतिहास तथा समयावधि
  4. संस्थाको क्रेडिट रेटिङ्ग
  5. नियामकीय व्यवस्थाको पालना
  6. नियमित रूपमा साधारणसभा (AGM) सम्पन्न भए-नभएको अवस्था

कसरी गणना हुन्छ थप कर्जा?

यसरी बैंकहरूले गर्ने मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने (उत्कृष्ट) कम्पनीहरूको शेयरमा राष्ट्र बैंकले तोकेको साविकको कर्जा–मूल्य अनुपात (Loan-to-Value Ratio) मा बढीमा १० प्रतिशत विन्दुसम्म थप गरी कर्जा प्रवाह गर्न सकिनेछ।

उदाहरणका लागि:

यदि हाल कुनै सबल कम्पनीको शेयरको बजार मूल्यका आधारमा ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था छ भने, नयाँ मूल्यांकन विधिमा उत्कृष्ट देखिएका कम्पनीको हकमा बैंकहरूले ८० प्रतिशतसम्म कर्जा दिन सक्नेछन्।

राष्ट्र बैंकको यस नयाँ कदमले समग्र सेयर बजारमा वित्तीय रूपमा सुदृढ र पारदर्शी कम्पनीहरूको आकर्षण बढाउने र बैंकहरूको कर्जा प्रवाहमा समेत जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।