क्रिप्टो र डिजिटल भुक्तानीको चुनौतीलाई समेटेर वित्तीय क्षेत्र सुधार गर्नुपर्छ: गभर्नर डा. पौडेल

-



     सफल आवाज    
     असार ३२ गते २०८३ मा प्रकाशित



ललितपुर, ३२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशमा दोस्रो चरणको वित्तीय क्षेत्र सुधारका लागि नयाँ र आधुनिक दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

पूर्वयोजनाकार मञ्च नेपालद्वारा बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले परम्परागत बैंकिङ प्रणालीको विकल्पमा डिजिटल र ‘अनचेन’ भुक्तानी प्रणालीहरू सशक्त बन्दै गएको उल्लेख गरे ।

बदलिँदो वैश्विक परिवेशमा बैंकिङ क्षेत्रले नयाँ चुनौतीहरूको सामना गरिरहेको बताउँदै उनले अमेरिका लगायतका देशहरूमा बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको उदयसँगै ‘अनचेन पेमेन्ट’ को लोकप्रियता बढ्दै गएको तर्फ ध्यान आकर्षण गराए ।

वैकल्पिक प्रविधि र बैंकिङ चुनौती

गभर्नर पौडेलका अनुसार बैंकहरूले गर्ने क्लियरिन्स र मध्यस्थता (इन्टरमेडियरी एजेन्सी) को काम अब वैकल्पिक प्रविधिहरूले गर्न थालेका छन् ।

“बैंकले इन्टरमेडियरी एजेन्सीको रूपमा गरिरहेको कामको विकल्पमा धेरै चिजहरू निस्कन थालेका छन्, जसले बैंकिङ क्षेत्रमा नयाँ चुनौतीहरू थपेको छ,” उनले भने ।

यी चुनौतीहरूलाई सम्बोधन गर्न अब बैंकहरूको वर्गीकरणमा मात्र सीमित नभई क्रिप्टोकरेन्सीको बढ्दो प्रभाव र अनचेन ट्रान्जेक्सन सिस्टमलाई समेत ध्यानमा राखेर वित्तीय सुधारका योजनाहरू बनाउनुपर्नेमा उनले जोड दिए ।

दबाबमुक्त मौद्रिक नीति र संस्थागत स्थायित्व

मौद्रिक नीति तर्जुमा गर्दा राजनीतिक दबाब वा हतारोमा निर्णय लिन नहुने गभर्नर पौडेलको स्पष्ट तर्क छ । बजेट निर्माणको समयमा जस्तै अन्तिम घडीमा आउने डेलिगेसन र प्रभावबाट मौद्रिक नीति सर्वथा मुक्त हुनुपर्ने उनले बताए । गभर्नर पद एक नियुक्त पद भएकाले यसलाई अनावश्यक रूपमा प्रचारमुखी बनाउनु भन्दा ऐनले दिएको म्यान्डेट (जनादेश) भित्र रहेर संस्थागत स्थायित्वका लागि काम गर्नुपर्ने उनको धारणा थियो ।

उनले थपे, “राष्ट्र बैंकले आफ्नो कानूनले दिएको म्यान्डेटभित्र रहेर काम गर्ने हो, बजारलाई कृत्रिम रूपमा चलाउने होइन । मौद्रिक नीतिको मुख्य ध्यान मूल्य तथा वित्तीय स्थायित्व कायम गर्ने, नीतिगत दर र म्याक्रोप्रुडेन्सियल उपायमा केन्द्रित हुनुपर्छ ।” वित्तीय क्षेत्रको सुधार हतारमा नभई अन्य देशका अनुभव, क्रस–कन्ट्री अध्ययन र सरोकारवालासँगको छलफलका आधारमा नेपालको आवश्यकता अनुसार गरिनुपर्ने उनको भनाइ छ ।

वित्त नीतिको नेतृत्वदायी भूमिका र उत्पादक क्षेत्रमा लगानी

तरलता व्यवस्थापन र आर्थिक विकासका लागि मौद्रिक नीति भन्दा पनि वित्त नीतिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने गभर्नर पौडेलले उल्लेख गरे । कुन क्षेत्रमा पैसा जाने भन्ने वातावरण बनाउने जिम्मेवारी मौद्रिक नीतिभन्दा बढी वित्त नीतिको हुने उनको विश्लेषण छ ।

एक्सप्रेस–वे र सुरुङमार्ग जस्ता ठूला पूर्वाधार विकासमा सरकारले स्पष्ट वित्त नीति ल्याएमा निजी क्षेत्र र बैंकिङ क्षेत्रको लगानी आकर्षित भई मुलुकको रूपान्तरण सम्भव हुने उनले दाबी गरे । जग्गा जस्ता सट्टाबाजीजन्य सम्पत्तिमा लगानी खन्याउनु भन्दा उत्पादक क्षेत्रमा पुँजी परिचालन गर्न वित्त नीतिले मार्गप्रशस्त गर्नुपर्ने र निजी क्षेत्र तथा सरकारको सहकार्यबाट मात्र ठूला आर्थिक रूपान्तरण सम्भव हुने सुझाव समेत उनले दिए ।