गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल बैंकिङ सेवा सुरु

-



     सफल आवाज    
     श्रावण १ गते २०८३ मा प्रकाशित



काठमाडौं, १ साउन । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर एकैपटक तीनवटा नवीनतम डिजिटल बैंकिङ सेवाहरू सञ्चालनमा ल्याएको छ।

बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘गरिमा प्रिपेड डलर कार्ड’, ‘गरिमा पीओएस (POS) टर्मिनल’ र ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ सेवाको औपचारिक शुभारम्भ गरेको हो।

बैंकका अनुसार नयाँ सुरु गरिएका सेवाहरू देहायबमोजिम रहेका छन्:

  • गरिमा प्रिपेड डलर कार्ड: यस कार्डमार्फत ग्राहकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सक्नेछन्। विदेशमा उपलब्ध डिजिटल सेवा तथा वस्तुको अनलाइन भुक्तानीका लागि यो सेवा प्रभावकारी हुने बैंकको विश्वास छ।
  • गरिमा पीओएस टर्मिनल: यस सेवामार्फत व्यावसायिक प्रतिष्ठान तथा व्यापारीहरूले डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी लिन सक्नेछन्। यसले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै व्यावसायिक कारोबारलाई थप व्यवस्थित बनाउन सहयोग पुर्‍याउनेछ।
  • गरिमा इन्टरबैंक क्यूआर टेलर: यो सेवामार्फत फोनपे (Fonepay) नेटवर्कमा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी गरिमा विकास बैंकका जुनसुकै शाखा काउन्टरबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्।

डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेको बैंकले आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ। ग्राहकलाई सुरक्षित, सरल, छिटो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाइने बैंकको भनाइ छ।

गुणस्तर व्यवस्थापनका लागि आईएसओ ९००१:२०१५ र सूचना सुरक्षाका लागि आईएसओ २७००१:२०२२ प्रमाणित गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत सेवा दिइरहेको छ। बैंकले आफ्ना नवीनतम डिजिटल माध्यमहरूबाट हालसम्म करिब नौ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।