नेप्से ४१ अंकले बढ्यो, साढे ५ अर्बकाे काराेबार

-



     सफल आवाज    
     श्रावण ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ साउन। साताको पहिलो कारोबार दिन शेयर बजारमा उल्लेख्य सुधार आएको छ। निरन्तर पाँचौँ कारोबार दिनको वृद्धिसँगै नेप्से परिसूचक १९ कारोबार दिनपश्चात पुनः २७०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि उक्लिएको हो।

सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.२२ अंक, फ्लोट इण्डेक्स २.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेका छन्।

नेप्सेमा आएको वृद्धिसँगै कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ। गत शुक्रबार ४ अर्ब ५७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा यस दिन कुल ३४३ वटा स्टकको ६७ हजार १५५ पटकको कारोबारमा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँबराबरको १ करोड २२ लाख ४५ हजार कित्ता शेयर कारोबार भएको छ।

यी हुन् बढी कमाउने र गुमाउने कम्पनी

यस दिन एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशत वृद्धि) लागेको छ। कम्पनीको शेयरमूल्य ४८ रुपैयाँ ५० पैसाले बढेर अन्तिम कारोबार ३७२ रुपैयाँ ४० पैसामा भएको छ। त्यस्तै, रिज लाइन इनर्जीको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी र श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको शेयरमूल्य करिब ११ प्रतिशतले बढेको छ।

यता, सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ, जसको शेयरमूल्य ६.८६ प्रतिशतले ओरालो लागेको छ।

कारोबारमा आँखु खोला अगाडि

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको २९ करोड १५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। दोस्रो स्थानमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे २४ करोड रुपैयाँ र रिडी पावर डेभलपमेन्टको साढे २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन उपसमूहमा सर्वाधिक हरियाली

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने केवल एक उपसमूह मात्र घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले बढेको छ। जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढ्दा विकास बैंक, होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन सामान्य अंकले घटेको छ।