नेप्सेमा लगातार छैटौँ दिन सुधार, कारोबार साढे ६ अर्ब नाघ्यो

-



     सफल आवाज    
     श्रावण ५ गते २०८३ मा प्रकाशित



काठमाडौं, ५ साउन। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि लगातार उकालो लागिरहेको शेयर बजारले मंगलबार पनि सोही वृद्धिको क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २,७२६.४९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन सोमबार ५ अर्ब ५१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा मंगलबार कारोबार रकम बढेर ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ पुगेको छ। यस दिन कुल ३४३ वटा स्टकको ७५ हजार १० पटकको कारोबारमार्फत १ करोड ४९ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

एभरेष्ट कलरको शेयरमा पुनः सकारात्मक सर्किट

मंगलबार एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा पुनः सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ५५ रुपैयाँ ८० पैसाले बढेर प्रतिशेयर ४२८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, कालंगा हाइड्रो र बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ। यता, कारोबारमा आएको ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ को मूल्य सर्वाधिक ७.४४ प्रतिशतले घटेको छ।

रिडी पावरको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यसैगरी, आँखु खोला जलविद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ्ग मिल्सको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

व्यापार उपसमूह सर्वाधिक बढ्यो

कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ।

यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशतले बढेको छ। यस्तै, ‘अन्य’ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने बैंकिङ्ग, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार देखिएको छ।