माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन शुरु

-



     सफल आवाज    
     श्रावण १२ गते २०८३ मा प्रकाशित



काठमाडौं, १२ साउन। लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट भइरहेको शोषण अन्त्य र विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघरमा सामूहिक आमरण अनशन शुरु गरेका छन्।

मंगलवारदेखि अनशनमा बसेका पीडितहरूले लघुवित्त तथा वित्तीय संस्थाहरूले ऋणीमाथि गरिरहेको वित्तीय शोषण, चर्को एवम् चक्रवृत्ति ब्याज, र विभिन्न शीर्षकमा असुल गरिने हर्जना तथा विविध शुल्क तत्काल खारेज गर्नुपर्ने मुख्य माग राखेका छन्।

आन्दोलनका क्रममा लघुवित्त पीडित मणिराम ज्ञवालीले नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत लघुवित्त संस्थाहरूले सर्वसाधारणलाई लुट्ने र शोषण गर्ने कार्य निरन्तर जारी राखेकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको बताए।

ज्ञवालीका अनुसार यसअघि सरकार र पीडित पक्षबिच भएको वार्ताका आधारमा तयार पारिएको प्रतिवेदन अझैसम्म कार्यान्वयनमा आएको छैन। उक्त प्रतिवेदन कार्यान्वयनको माग गर्दै २०८२ जेठ ४ गते सर्वोच्च अदालतमा रिट दायर गरिएको र सम्मानित अदालतले गत वर्षको पुस २२ गते प्रतिवेदन कार्यान्वयन गर्न सरकारको नाममा फैसला सुनाइसकेको भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको उनको भनाइ छ।

पीडितहरूले विशेष वित्तीय ऐन खारेज गरी मुलुकी आचारसंहितामा आधारित आर्थिक तथा वित्तीय प्रणाली लागू गर्नुपर्ने र वित्तीय तथा सहकारी पीडितहरूलाई ब्याजरहित ऋण उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्। आफ्ना मागहरू पूर्ण रूपमा सम्बोधन नभएसम्म अनशन र आन्दोलनका कार्यक्रमहरू जारी रहने चेतावनी उनीहरूले दिएका छन्।