नेप्सेमा घट्दै : कारोबार रु ४ अर्ब ४२ करोडमा सीमित, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

-



     सफल आवाज    
     श्रावण १२ गते २०८३ मा प्रकाशित



काठमाडौं, १२ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो कारोबार दिन मंगलबार पनि मन्दी कायमै रहेको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको बजारले मंगलबार पनि सोही सुस्ततालाई निरन्तरता दिएको हो।

नेप्से परिसूचक ४.६४ अंकले ओरालो लाग्दै २६९६.६७ विन्दुमा झरेको छ। नेप्सेसँगै बजारका अन्य प्रमुख सूचकहरू—सेन्सेटिभ इण्डेक्स ०.७० अंक, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले घटेका छन्।

शेयर बजारमा आएको सुस्ततासँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट दर्ज भएको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा मंगलबार ३४२ वटा कम्पनीको ५५ हजार ५८० पटकको कारोबारमार्फत १ करोड ४ लाख २१ हजार कित्ता शेयर रु. ४ अर्ब ४२ करोड ७३ लाख ५ हजारमा सीमित भएको छ।

सुस्त बजारका बिच पनि एभरेष्ट कलर लिमिटेडको शेयरमा भने लगानीकर्ताको उच्च आकर्षण देखियो। उक्त कम्पनीको शेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता ११२ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँ पुगेको छ। यस्तै, लक्ष्मी उन्नती कोषको इकाई मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको छ। अर्कोतर्फ, कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीहरूले सर्वाधिक ६.०७ प्रतिशतको घाटा व्यहोरेका छन्।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहन सफल भयो, जसको रु. २७ करोड १४ लाख बराबरको शेयर किनबेच भयो। त्यस्तै, रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार गरी ४ उपसमूहका सूचकमा सामान्य सुधार देखिए पनि बाँकी ९ वटा उपसमूहका सूचकहरू राताम्मे बनेका छन्।