जुलाईमा ७१ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

- चिनियाँ पर्यटकको संख्यामा ६१ प्रतिशतको उछाल

-



     सफल आवाज    
     श्रावण १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ साउन । सन् २०२६ को जुलाई महिनामा नेपालमा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यो संख्या गत वर्ष सन् २०२५ को जुलाई महिना (७० हजार १९३ जना) को तुलनामा २.३ प्रतिशतले बढी हो।

भारतीय पर्यटक शीर्ष स्थानमा, चिनियाँ पर्यटकमा उच्च वृद्धि

पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट कुल आगमनको ३२.७३ प्रतिशत अर्थात् २३ हजार ४९० जना पर्यटक नेपाल भित्रिएका छन्।

त्यस्तै, चीनबाट आउने पर्यटकको संख्यामा उल्लेख्य सुधार देखिएको छ। जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको जुलाई (६ हजार ८९० जना) को तुलनामा ६१.०९ प्रतिशतले बढी हो। यो संख्या कोभिड-१९ पूर्व सन् २०१९ को जुलाई (१० हजार २१५ जना) को तुलनामा पनि ८.६५ प्रतिशतले बढी हो।

पर्यटक आगमनको सूचीमा अमेरिका तेस्रो स्थानमा रहेको छ। अमेरिकाबाट ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन्। यसैगरी बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक भित्रिएका छन्।

क्षेत्रगत आगमनको अवस्था

क्षेत्रगत आधारमा दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी पर्यटक आएका छन्। सार्क क्षेत्रबाट कुल आगमनको ४१.४६ प्रतिशत अर्थात् २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्। यद्यपि, यो संख्या अघिल्लो वर्षको (३३ हजार ७८७ जना) तुलनामा ११.९३ प्रतिशतले कम हो। सार्क राष्ट्रहरूमध्ये भुटानबाट ९९१, श्रीलंकाबाट ५८१, पाकिस्तानबाट ४७५ र माल्दिभ्सबाट ३९ जना पर्यटक भित्रिएका छन्।

दक्षिण एसियाबाहेकका अन्य एसियाली मुलुकहरूबाट आउने पर्यटकको संख्यामा ३३.०५ प्रतिशतले वृद्धि भई १७ हजार ४२४ पुगेको छ (कुल हिस्सा २४.२८%)। यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १,३९४, मलेसियाबाट १,३८०, जापानबाट १,१११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक नेपाल आएका छन्।

यसका साथै जुलाईमा अन्य महादेश तथा क्षेत्रबाट आएका पर्यटकको विवरण निम्न बमोजिम छ:

  • युरोप: ९ हजार २७९ जना (कुल हिस्सा १२.९३%) —बेलायत (३,७७३), जर्मनी (७२३), स्पेन (६८१), फ्रान्स (६४४), नेदरल्यान्ड्स (५१४), पोर्चुगल (४८९) र रूस (४६७)।
  • अमेरिकी महादेश: ८ हजार ८२४ जना।
  • ओसियानिया: २ हजार ६०७ जना।
  • मध्यपूर्व: ७३६ जना।
  • अफ्रिकी मुलुक: ३२४ जना।