
काठमाडौं, २२ साउन। नेपाल धितोपत्र बोर्ड (SEBON) ले नेपालको प्राथमिक पूँजी बजार (IPO) मा व्यापक सुधार र रूपान्तरण गर्ने उद्देश्यका साथ ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेत पत्र, २०८३’ सार्वजनिक गरेको छ।
११२ पृष्ठ लामो यस ऐतिहासिक दस्तावेजले आगामी १० वर्षभित्र नेपाली पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी, पारदर्शी र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्य लिएको छ।
विशेषगरी, प्राथमिक निष्कासनमा हुने अत्यधिक माग (Oversubscription), चिट्ठा (Lottery) प्रणालीको भर पर्नुपर्ने बाध्यता र संस्थागत लगानीकर्ताको न्यून सहभागिताजस्ता विद्यमान समस्या समाधान गर्न बोर्डले नयाँ नीतिगत व्यवस्था अघि सारेको हो।
मुख्य नीतिगत सुधार तथा विशेषताहरु:
- बुक बिल्डिङ र बजारमा आधारित मूल्य निर्धारण: प्रति कित्ता १०० रुपैयाँको परम्परागत प्रणालीको सट्टा ‘बुक बिल्डिङ’ लाई प्राथमिक विधिको रूपमा विकास गरी वास्तविक मूल्य अन्वेषण (Price Discovery) र बजारमा आधारित मूल्य निर्धारण गरिने।
- एङ्कर लगानीकर्ता र संस्थागत प्रवेश: ठूला आईपीओहरूमा सर्वसाधारणका लागि शेयर खुल्नुअघि नै ठूलो परिमाणमा शेयर खरिद गर्ने ‘एङ्कर लगानीकर्ता’ (Anchor Investors) को अवधारणा र योग्य संस्थागत लगानीकर्ता (QIB) को स्पष्ट कार्यढाँचा लागू गरिने।
- पूर्ण डिजिटल आईपीओ र e-KYC: ई-केवाईसी (e-KYC) को पूर्ण कार्यान्वयनमार्फत एकीकृत तथ्याङ्क प्रणाली निर्माण गरी ‘एन्ड-टु-एन्ड डिजिटल आईपीओ’ लागू गरिने। साथै, नियामक अनुगमनका लागि ‘RegTech’ र ‘SupTech’ प्रविधिको प्रयोग गरिने।
- मर्चेन्ट बैंकरको कडा जवाफदेहिता: गलत वित्तीय विवरण पेश गर्ने वा जोखिम लुकाउने मर्चेन्ट बैंकर तथा लेखापरीक्षकमाथि कडा कारबाही र ‘डिउ डिलिजेन्स’ मा कडाइ गरिने।
तीन चरणको कार्यान्वयन मार्गचित्र (Roadmap):
- प्रथम चरण (०-१ वर्ष): नीतिगत र कानुनी सुधार, धितोपत्र ऐन परिमार्जन तथा बुक बिल्डिङको पुनरावलोकन।
- दोस्रो चरण (१-३ वर्ष): नेप्से र सिडिएससीको प्रणाली आधुनिकीकरण, एकीकृत आईपीओ पोर्टल र डिजिटल विवरणपत्र।
- तेस्रो चरण (३-५ वर्ष): पूर्ण बजार आधारित मूल्य निर्धारण, अन्तर्राष्ट्रिय लगानीकर्ताको सहभागिता र AI आधारित बजार अनुगमन।
‘PMLD Vision 2035’ र लगानीकर्ता सुरक्षा
बोर्डले ‘प्राइमरी मार्केट लङटर्म डेभलपमेन्ट (PMLD) भिजन २०३५’ मार्फत सन् २०३५ सम्ममा नेपालको प्राथमिक बजारलाई दक्षिण एसियाकै नमूना बनाउने र कुल गार्हस्थ्य उत्पादन (GDP) मा ठूलो योगदान पुर्याउने लक्ष्य राखेको छ। साथै, साना लगानीकर्ताको हितका लागि नियमित वित्तीय साक्षरता, प्रविधिमार्फत द्रुत गुनासो सुनुवाइ र सरल नेपाली भाषामा विवरणपत्र उपलब्ध गराइनेछ।
८० लाखभन्दा बढी डिम्याट खाता भइसकेको वर्तमान अवस्थामा बोर्डको यो कदमलाई पूँजी बजारको विकासमा कोशेढुंगा मानिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




