जीवन बीमा क्षेत्र: पोलिसी समर्पण रकम घट्यो, व्यतित रकम ३९ अर्ब २४ करोड नाघ्यो

-



     सफल आवाज    
     श्रावण २३ गते २०८३ मा प्रकाशित



काठमाडाैं, २३ साउन । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिबिम्ब’ अनुसार आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमास (असार मसान्त) सम्म जीवन बीमा कम्पनीहरूबाट हुने पोलिसी सरेण्डर (बीमालेख समर्पण) रकम र संख्यामा सुधार आएको छ भने नवीकरण नगरिएको (व्यतित) बीमालेखको रकम भने बढेको छ।

बीमालेख समर्पणमा सुधार

गत आर्थिक वर्षको असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को १५ अर्ब १५ करोड २१ लाख रुपैयाँको तुलनामा ९.११ प्रतिशतले कम हो।

यस्तै, पोलिसी समर्पण गर्नेको संख्यामा पनि १६.४९ प्रतिशतले गिरावट आएको छ। अघिल्लो आवको सोही अवधिमा १ लाख ८ हजार २३८ जनाले पोलिसी सरेण्डर गरेकोमा गत आवमा ९० हजार ३८७ जनाले मात्रै पोलिसी त्यागेका छन्।

व्यतित बीमालेख रकममा वृद्धि

पोलिसी समर्पण घटे पनि समयमा प्रिमियम भुक्तानी नभई व्यतित (ल्याप्स) हुने बीमालेखको रकम भने १२.०८ प्रतिशतले बढेको छ। गत आवको असार मसान्तसम्म व्यतित बीमालेख रकम ३९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँ मात्र थियो।

यद्यपि, व्यतित बीमालेखको संख्यामा भने १७.१६ प्रतिशतले कमी आएको छ। समीक्षा अवधिमा १० लाख ३० हजार ४० वटा बीमालेख नवीकरण हुन बाँकी रहेका छन्, जबकि अघिल्लो वर्ष यस्तो संख्या १२ लाख ४३ हजार ३६५ रहेको थियो।

समर्पण तथा व्यतित विवरण (रकम रु. लाखमा):

सूचक२०८२ असार मसान्तसम्म२०८३ असार मसान्तसम्मपरिवर्तन %
समर्पण संख्या१,०८,२३८९०,३८७(१६.४९)
समर्पण रकम१,५१,५२१.९६१,३७,७१९.७१(९.११)
व्यतित बीमालेखको संख्या१२,४३,३६५१०,३०,०४०(१७.१६)
व्यतित बीमालेखको रकम३,५०,१७७.६६३,९२,४७२.०११२.०८

(स्रोत: नेपाल बीमा प्राधिकरण)