१०४ कम्पनी आईपीओको पर्खाइमा, ५ ठूला कम्पनीको मात्रै साढे ११ करोड कित्ता सेयर

-



     सफल आवाज    
     श्रावण २३ गते २०८३ मा प्रकाशित



काठमाडाैं, २३ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हाल १०४ वटा कम्पनी प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासनको पर्खाइमा रहेका छन्।

बोर्डको अद्यावधिक तथ्यांकअनुसार पाइपलाइनमा रहेका सम्पूर्ण कम्पनीहरूले गरी कुल ४७ करोड २८ लाख कित्ता सेयर निष्कासनको प्रक्रिया अघि बढाएका हुन्।

कुल निष्कासनको २५ प्रतिशतभन्दा बढी हिस्सा अर्थात् करिब साढे ११ करोड कित्ता सेयर ५ वटा ठूला कम्पनीको मात्रै रहेको छ। शीर्ष ५ कम्पनीहरूमा ३ वटा उत्पादनमूलक क्षेत्रका तथा जलविद्युत् र सेवा क्षेत्रका १–१ वटा कम्पनी रहेका छन्।

पाइपलाइनका प्रमुख ५ ठूला आईपीओहरू:

  • सिउरी न्यादी हाइड्रोपावर: कित्ता संख्याका आधारमा सबैभन्दा ठूलो यस कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३ लाख कित्ता (३ अर्ब ३ करोड रुपैयाँ बराबर) सेयर निष्कासनका लागि अनुमति मागेको छ।
  • शुभश्री अग्नि सिमेन्ट: दोस्रो ठूलो कम्पनीका रूपमा रहेको यस सिमेन्ट उद्योगले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड २ लाख कित्ता (२ अर्ब २ करोड रुपैयाँ बराबर) सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ।
  • जगदम्बा स्टिल: प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारीमा रहेको यस कम्पनीले प्रतिसेयर ३३० रुपैयाँका दरले २ करोड २ लाख कित्ता (कुल ६ अर्ब ६२ करोड रुपैयाँ बराबर) सेयर निष्कासनको आवेदन दिएको छ।
  • महाशक्ति सिमेन्ट: उत्पादनमूलक क्षेत्रकै यस कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ७८ लाख कित्ता (१ अर्ब ७८ करोड रुपैयाँ बराबर) सेयर निष्कासनको स्वीकृति पर्खिरहेको छ।
  • डिस मिडिया नेटवर्क: सेवा क्षेत्रअन्तर्गतको यस कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड १७ लाख कित्ता (१ अर्ब १७ करोड रुपैयाँ बराबर) सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ।

उत्पादनमूलक क्षेत्रका शुभश्री अग्नि सिमेन्ट, जगदम्बा स्टिल र महाशक्ति सिमेन्टको मात्रै करिब ६ करोड कित्ता सेयर निष्कासनको तयारीमा छ। धितोपत्र बोर्डबाट अनुमति पाएलगत्तै यी कम्पनीहरूको आईपीओ सर्वसाधारणका लागि निष्कासन हुनेछ।