
काठमाडौं, २६ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशमा बढ्दो सवारी दुर्घटनाको मुख्य कारण सडकको खस्कँदो गुणस्तर र फितलो सुरक्षा प्रणाली भएको औँल्याउँदै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले दुर्घटना हुनासाथ गाडी र चालकलाई मात्रै निशाना बनाउने सरकारी र सामाजिक प्रवृत्तिको कडा शब्दमा खण्डन गरे।
श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई दशकौँदेखि केवल ‘राजस्व असुलीको दुहुनो गाई’ र ‘विलासिताको वस्तु’का रूपमा मात्र हेरिने दृष्टिकोणप्रति तीव्र असन्तुष्टि जनाए।
“सरकारले अटो क्षेत्रलाई कहिलेसम्म विलासिता मात्र सम्झिने? यो त मुलुकको अनिवार्य आवश्यकता र अर्थतन्त्रको बलियो खम्बा हो,” उनले भने, “बजेटपिच्छे भन्सार दर चलाएर राजस्व उठाउने मेलो मात्र बनाइयो, तर यसको योगदानलाई कहिल्यै कदर गरिएन।”
उद्घाटन समारोहमा महासंघ अध्यक्ष श्रेष्ठका मुख्य बुँदाहरू:
- दुर्घटनाको वास्तविकता: दुर्घटनामा सवारी साधन र चालकको मात्र दोष हुँदैन। सडकको बिजोग अवस्था, कमजोर ट्राफिक व्यवस्थापन र सुरक्षा मापदण्डको बेवास्ता नै दुर्घटनाका मुख्य कारक हुन्।
- २० वर्ष पुरानो ढर्रा: दुई दशकअघिको तुलनामा सडकमा सवारीको घनत्व ह्वात्तै बढे पनि सरकारको सोच र पूर्वाधार भने पुरानै ढर्रामा सीमित छ। ७ हजार ट्राफिक प्रहरीको भरमा देशभरको विशाल सवारी चाप थाम्ने प्रयास नै अव्यहारिक छ।
- छलफल छलफलमै सीमित: सडक सुरक्षाका विषयमा सरकारले पटक-पटक बैठक र छलफल त गर्छ, तर ती सबै गफमै सीमित हुने गरेका छन्। ठोस सुधार शून्यप्रायः छ।
- दर्ता रोक्ने निर्णयप्रति आपत्ति: विकल्पै नदिई यातायातका साधनको दर्ता रोक्ने सरकारी कदम अपरिपक्व छ। प्रतिबन्ध लगाउनुको साटो सरकारले निकास र विकल्प दिनुपर्छ।
अध्यक्ष श्रेष्ठले सडकको गुणस्तर नसुधारी र ट्राफिक प्रणालीलाई आधुनिक नबनाई दुर्घटना न्यूनीकरणको गफ हाँक्नु निरर्थक हुने भन्दै सरकारलाई तत्काल पूर्वाधार सुधारमा जुट्न चेतावनी दिएका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




