कुमारी बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग

-



     सफल आवाज    
     श्रावण २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ साउन। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले दिएको उक्त रकम विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको सघन उपचार (Critical Care) सेवा सुदृढीकरण, आवश्यक स्वास्थ्य सेवा एवम् स्वास्थ्य उपकरण व्यवस्थापनमा उपयोग गरिनेछ।

नेपाल सरकार अन्तर्गत सञ्चालनमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्र हो। यस केन्द्रले देशका दुर्गम तथा पिछडिएका क्षेत्रबाट आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत एवम् जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। बढ्दो बिरामीको चाप र बालबालिकाका लागि सघन उपचारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले यो सहयोग हस्तान्तरण गरेको हो।

स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकार मान्दै बैंकले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन योगदान दिँदै आएको जनाएको छ। यस सहयोगले बाल स्वास्थ्य उपचारको गुणस्तर बढाउन, जीवनरक्षा दर वृद्धि गर्न र स्वास्थ्य सेवामा रहेको असमानता घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल मर्मका साथ बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारीत काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक सेवा प्रदान गरिरहेको छ। बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।